लोकसंवाद संवाददाता | समाज | असोज २२, २०७६
दशैँ नेपालीहरूको महान चाडका रूपमा मनाइन्छ । पहिला पहिला नेपाली हिन्दुहरूको मात्र भनेर चिनिने र नेपाली हिन्दुविशेषले मात्र मनाउने गरेको दशैँ अहिले प्राय: सबै नेपालीले मनाउन थालेका छ्न । त्यसो त अन्य धर्म र सम्प्रदायकाहरूले मनाउने विभिन्न चाडपर्वमा हिन्दुहरूको सहभागिता पनि बाक्लिँदो छ । यसले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव र भाइचाराम अवश्य वृद्धि गरेको छ ।
हरेक चाडपर्वका आआफ्नै महत्त्व र विशेषता छन । हिन्दुहरूका जस्तै अन्य धर्म-सम्प्रदायका चाडपर्वका पनि आफ्नै विशेषता छन । दशैँका पनि केही मौलिक र रमाइला पक्ष छन । घटस्थापनादेखि नवमीसम्म नवरात्रका समयमा गरिने देवीपुजन, यसबीचमा वाहन (सवारी साधन), हतियार पुजन, विभिन्न 'लीला' (रामलीला आदि) अनि बलि (पशु वा अन्य फलफूल) आदि यसका आफ्नै सौन्दर्य हुन ।
दशमीका दिनदेखि पूर्णिमासम्म आफ्ना अग्रज र मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ । घटस्थापनामा राखिएको जमरा, जुन पहेँलो हुन्छ, टीका लगाइदिएर शिरमा वा कानमा राखिदिने गरिन्छ । यसको वैज्ञानिक पक्षबारे खोज अनुसन्धान हुँदै गर्ला । सांस्कृतिक प्रचलनका रूपमा यो परापूर्वदेखि चलिआएको छ । जमरा राख्न नभ्याइए वा नराखिएमा फूल वा पातीको प्रयोग गरिन्छ ।
विजया दशमीका दिन सम्पूर्ण आफन्तजन भेला भएर परिवारका ज्येष्ठ सदस्यबाट टीका-जमरा र आशीर्वाद लिइसकेर मीठो मसिनो खाने, रमाउने गरिन्छ । टीकाको दिन जमिन छाड्नुपर्छ भन्ने मान्यता छ । दशैँको अर्को आकर्षण पिङ पनि हो । अरू दिन पिङमा नचढ्नेहरू पनि टीकाको दिन चढ्छन । पहिले पहिले रोटे पिङहरू प्रशस्त हुन्थे तर अचेल ठाउँठाउँमा लिङ्गेे पिङ मात्र देखिन्छ ।
दशैँको अर्को रमाइलो पक्ष 'आशीर्वाद' हो । मान्यजनले टीका-जमरा लगाइदिएसँगै आशीर्वाद दिन्छन । यो प्राय: संस्कृत भाषामा हुन्छ । कतिपयले नेपाली छन्द/लयमा समेत आफ्नै प्रकारको आशीर्वादका श्लोक बनाएका पनि छन । तर, हाम्रो कानमा गुञ्जिरहने र मुखाग्र भएका आशीर्वादका श्लोक भने संस्कृतकै छन । तिनै श्लोकलाई कनीकुथी सबैले दशैँको टीकासँगै वाचन गर्ने गर्छन ।
आशीर्वादका श्लोक पनि पुरुष र महिलाका लागि भिन्न छन । पुरुषलाई लामो आयु, श्रेय (यस), साहस (वीरता), धनी, तेजपन, सम्मान, बलवान्, दानी, सत्यवादी, विद्वान हुनका लागि आशीर्वाद दिइन्छ भने महिलालाई देवीका विभिन्न स्वरूपहरू समान हुन आशीर्वाद दिइन्छ ।
पुरुषका लागि यो श्लोक वाचन गरिन्छ-
आयुर् द्ररोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने माश्च दुर्योधने
दानं सूर्यसुते बलं हलधरे सत्यंच कुन्तीसुते
विज्ञानंं विदुरे भवन्तु भवतां कृतिश्च नारायणे ।
अर्थात आयु द्रोण पुत्र अस्वत्थामाको जस्तो होस, श्रेय राजा दशरथको जस्तो, शत्रुको नाश रामले जसरी गर्नू, सम्पन्नता नहुष राजाको जस्तो होस ।
गति वा तेज हावाको जस्तो होस, सम्मान दुर्योधनको जस्तो, दानी सूर्य पुत्र कर्ण जस्तो हुनू, बलवान् बलराम जस्तो, सत्यवादी कुन्ती पुत्र युधिष्ठिर जस्तै हुनू, विदुर जस्तै विद्वान अनि यश वा कीर्ति विष्णुको जस्तो रहोस ।
यो श्लोक नितान्त पुरुषका लागि रचिएको र महिलालाई विभेद गरिएको, पुरुषको मात्र गुणगान गाइएको आलोचना पनि भइरह्र्को पाइन्छ । यद्यपि, केही संस्कृतिकर्मी, अध्येताले भने यो श्लोक महिलाका लागि पनि उत्तिकै प्रयोग गर्न सकिने धारणा राख्छन । उनीहरूको तर्क छ- महिला पनि त बहादुर (वीराङ्गना) हुन सक्छन, सम्पन्नता महिलाका लागि पनि आवश्यक छ, सम्मान, यश र तेज महिलाका लागि पनि जरुरी कुरा हुन र शौर्य (बल) महिलामा पनि आवश्यक छ, सत्यवादी सबै हुनुपर्छ ।
पहिला पहिला महिलालाई परिवार र समाजले हेर्ने दृष्टि र गर्ने व्यवहार पक्कै विभेदकारी थियो तर अहिले त्यस्तो छैन । यसर्थ यो श्लोक अचेल महिला-पुरुष दुवैलाई आशीर्वाद दिँदा प्रयोग गर्ने गरिएको पाइन्छ ।
महिलाका लागि श्लोक यस्तो छ-
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वहा शोधा नमोस्तुते ।
यो श्लोकमा देवी वा भगवतीका विभिन्न स्वरूपको चर्चा गर्दै देवी जस्तै बन्न प्रेरणा दिइएको छ ।
सबैको मंगल कामना र भलोका लागि यो श्लोक वाचन गरिन्छ-
सर्वै माङ्गल माङ्गल्यं शिवे सर्वार्थ साधिके
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते ।
यस्ता श्लोकहरू बाबू बाजेका मुखारविन्दबाट अनुज पुस्ताले सुन्दै, कण्ठ गर्दै आएकाले शुद्ध श्लोक नपढेकाहरूले यी श्लोकको उच्चारण पनि गलत गर्दै आएका पाइन्छ । 'आयु द्रोणसुते'लाई नै 'आइन्द्रो नसुते' भनिएको सुनिन्छ ।
जे भए तापनि दशैँ धेरै हिसाबले मौलिक र सांस्कृतिक चाड हो । यसलाई सुख, सन्तोष, सद्भाव र समृद्धिको चाडका रूपमा मनाइनु राम्रो हुन्छ । आशीर्वाद शुभ वा राम्रो होस भनेर गरिने कामना हो । अग्रज, अनुज सबै शुभचिन्तकले एकअर्काप्रतिको सद्भाव र स्नेह कायम राखेर सबैको राम्रो होस, सबैको कल्याण होस भन्नु मानवीय पक्ष पनि हो ।