लोकसंवाद संवाददाता | पर्यटन | असोज २४, २०७६
रुपन्देही । पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको बुटवलको जीतगढीमा २०७६ असोज२३ गते सराएं नाच प्रदर्शन गरिएको छ ।
गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराएं नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका स्थानीयवासीले यहाँ प्रदर्शन गरेका हुन् ।
स्थानीयवासीले खुडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै सराएं नाचेका हुन् । यो नाच कोत वा मन्दिर नजिकैको समथर भू–भागमा मात्र नाच्ने गरिएकाले जीतगढीमा पनि दुर्गा मन्दिरको आँगनमा आयोजना गरिएको थियो । गुल्मीको धुर्कोट र चोएङ्गा, अर्घाखाँचीको अर्घाभगवती र भण्डारथुम, पाल्पाको भैरवस्थान लगायतका ठाउँमा यो नाच विशेष किसिमले सयाैं सर्वसाधरणको उपस्थितिमा नाच्ने गरिन्छ ।
तर बार, खुडालगायतका हतियारसहित पञ्चेबाजाको तालमा नाचिने यो नाचमा देवीहरुका प्रतिकका रुपमा लिइने आलमलाई समेत लिएर नाच्ने प्रचलन छ । शक्तिपीठका अगाडि आलम स्थापना गरिएको स्थानमा पूजारीको हातबाट टीका लगाएर हतियार पूजा गरी नाच्ने गरिन्छ । गोल घेरामा सराएं नाचेपछि हतियार नचाउने कौशल प्रदर्शन समेत गरिन्छ ।
संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार यस क्षेत्रमा सराएंको अर्थ चुचुरोमाथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरोमाथि कोतमा शक्ति पीठका मन्दिर हुने र ऐतिहासिक हतियारको भण्डारण पनि कोतको मन्दिरमा हुने भएकाले कोत नजिकैको समथर भागमा हतियारसहित नाच्ने परम्परा भएकाले यसलाई सराएं भनिएको हो । सराएं शब्दलाई वृहत नेपाली शब्दकोषमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, पाटी वा विशेष घर भनिएको छ । साथै विशेष पर्वका दिन मन्दिरभित्रका खुडा, तरबार, खड्क आदि हतियार हातमा लिएर गुल्मी, अर्घाखाँचीतिर बाजाको तालमा नाचिने एक प्रकारको जात्रा भन्ने उल्लेख छ ।
भुरे टाकुरे राजाहरुको पालादेखिनै यो नाच प्रदर्शन हुँदै आएका विभिन्न मान्यता छन् । त्यस बेलाका राजाहरुले भगवान् रामले रावण लगायतका राक्षस बध गरी मानवजातिलाईमुक्ति दिलाएको खुशीयालीमा विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सराएं नाच्ने परम्परा चलाएको मान्यता छ ।
एकअर्को मान्यता अनुसार ५६५ वर्षअघि जाँट राजाको शासनको पालामा दानवीय स्वभाव भएका ती राजालाई मारेको सम्झनामा सराएं नाच्ने परम्परा थालिएको किंबदन्तीसमेत रहि आएको छ । जांटवंशीय राक्षसी स्वभाव भएका ती राजाले चाहेका बेला स्थानीयवासीले बालबालिकाको बलि दिनुपर्ने प्रचलनका कारण आक्रान्त भएकाले उनकै भारदार र श्रीमतीकै योजनामा डल्ले भन्ने स्थानमा मारिएको खुशीयालीमा यो नाच नाच्ने प्रचलन चलेको मान्यता रहेको पाइन्छ । युद्ध जित्न सहयोग पुर्याएका हतियारको सम्मानमा ‘वाख्खै’ शब्द उच्चारण गर्दै यो नाच नाचिन्छ ।
‘वाख्खै’ शब्दको अर्थ ‘त्यसलाई नछोड’ भन्ने रहेको उहाँको भनाइ छ । हातमा खुकुरी, खुडा, तरवार,ढाल र लठ्ठी हातमा लिएर दमाहा, नरसिंहा, ट्याम्को, सनही र झ्यालीको तालसँगै सराएं नाच नाचिन्छ ।