पर्वत भट्टराई | जीवनदर्शन | फागुन ०२, २०७५
गौतम बुद्धले भनेका थिए– यो संसारमा परिवर्तनबाहेक सबै कुरा परिवर्तनशील हुन्छन् । अर्थात् परिवर्तनको अखण्डता र अनन्तताबाहेक सम्पूर्ण कुराहरू परिवर्तनको अनेक चरणहरू पार गर्दै आउँछन् र जान्छन् । हामीले चाहेर परिवर्तन रोकिने वा नरोकिने भन्ने हुँदैन । मानिसले आफ्नो जीवनको पहिलो पाइला चाल्दाखेरि नै त्यो पाइलामा परिवर्तनको बीउ रोपिइसकेको हुन्छ । परिवर्तन भन्ने कुरा हुँदैन थियो भने न ब्रह्माण्ड हुन्थ्यो न हामी । दर्शनशास्त्रले परिवर्तनलाई आमरूपमा स्वीकार गर्छ । विज्ञान र प्रविधिले त झन् परिवर्तनकै सिद्धान्तको भरमा हामीलाई अन्तरिक्ष हुँदै चन्द्रमा र मंगल ग्रहमा पुर्यायो । अझ अगाडि बढेर काल्पनिक चन्द्रमा पनि बनाउन सक्ने सामथ्र्य मानिसले आर्जन गरिसक्यो । यो सबै परिवर्तनको दर्शनले सम्भव भएको हो । आधुनिक खोज अनुसार विश्व ब्रह्माण्डको रचना महा विस्फोटको सिद्धान्त अर्थात् ‘बिग ब्याङ थ्योरी’ अनुसार भएको हो । यो विश्व ब्रह्माण्डको उत्पत्ति करिव साढे १३ खर्ब वर्षपहिले एउटा भयंकर विस्फोटबाट भयो । प्राणीको विकास पनि परिवर्तनको सिद्धान्त अनुसार भएको हो । यो विश्व ब्रह्माण्डको भयंकर ठूलोदेखि स–सानो कुरामा पनि निरन्तर भौतिक, रासायनिक र जैविक परिवर्तनहरू भइरहेको हुन्छ ।
जसरी पानीले बग्न र तरंगित हुन छाड्दैन । हावाले चल्न र सुस्ताउन छाड्दैन । आगोले बल्न र ताप दिन छाड्दैन । जमिनले आफ्नो उर्वरामा फुल्न र फलाउन छाड्दैन । शब्दले लय सहित अर्थपूर्ण भाषा बोल्न छाड्दैन । त्यसैगरी परिवर्तनले पनि आवश्यक कारणहरू बोकेर अवस्थालाई बदल्न छाड्दैन । परिवर्तन स्थायी र अनन्त छ । यही हो परिवर्तनको दर्शन र सिद्धान्त । यो कुरा मानिस, परिवार, समाज, देश, जगत् र ब्रह्माण्डमा पनि लागू हुन्छ र भइरहेको छ ।
पूर्वीय र पश्चिमा दुवै दर्शनले परिवर्तनको सिद्धान्तलाई स्वीकार गरेको पाइन्छ । वेदब्यासदेखि बुद्धसम्म र सोक्रेटसदेखि कार्ल माक्र्ससम्मका दार्शनिकहरूले फरक–फरक रूपमा परिवर्तनलाई आत्मसात् गरेका छन् । विश्व ब्रह्माण्डको उत्पत्ति, पदार्थको संरचना र प्राणीको विकास प्रक्रियाहरू परिवर्तनको दर्शनबाट नै भएको कुरा दार्शनिक र वैज्ञानिकरूपमा पुष्टि भइसकेको भए पनि हामी परिवर्तनका ती नियमहरूलाई सहजै स्वीकार गर्दैनौं र भौतारिरहन्छौं; हरे, यो के भयो नि भनेर । तीन सय ७५ वर्ष अघिका वैज्ञानिक आइज्याक न्यूटनले जस्तै गुरुत्वाकर्षणको सिद्धान्त पाँच–सात हजार वर्षपहिले नै यहीँका कणाद् महर्षिले पत्ता लगाइसकेका थिए । दुई सय वर्षअघिका कार्ल माक्र्सले जस्तै संसारमा दुःख छ; त्यसलाई हामी बदल्न सक्छौं भनेर पच्चीस सय वर्षपहिले नै यहीँका गौतम बुद्धले भनेका थिए । तर, हामी त्यो कुराबाट बिलकुल बेखबर बन्यौं । अनि हामीले कणाद् महर्षिको हरेक पदार्थमा अर्को पदार्थलाई तान्ने शक्ति छ भन्ने कुरा र दुःखपूर्ण संसारलाई बदल्न सकिने बुद्धको दर्शनलाई धर्मको खोल ओढायौं र भन्यौं– यो दुःख र सुख त भाग्यको खेल रहेछ । हामी पढ्छौ ऋषिमुनि, दार्शनिक र वैज्ञानिकहरू; तर रमाउछौं सिसिमुनि; जिन्दगी यस्तै त हो भनेर । यो जगत् र संसार परिवर्तन भइरहन्छ । तर, हामी परिवर्तन हुन मान्दैनौं । हामीले नमानेर के फरक पर्छ र संसार त आफ्नो नियम अनुसार परिवर्तन भइरहेकै हुन्छ । हामी सत्यलाई चुनौती दिन्छौं र भन्छौं– मलाई यो मन परेन, त्यो मन परेन । यो ठीक छ, त्यो बेठीक छ ।
हिजो जे थियो, त्यो आज छैन र आज जे छ, त्यो भोलि रहने छैन । हिजो सृष्टि नै थिएन र हामी पनि थिएनौं । आज अनेक ब्रह्माण्डको एउटा सौर्य मण्डलभित्र हामी आफूलाई प्राणीका रूपमा पाइरहेका छौं । तर, हिजो हामी त के हाम्रो पुर्खा मानिएको एक कोषीय तत्व पनि अस्तित्वमा थिएन । हिजो थिएन भनेर आज नमान्ने कुरा भएन र आज छ भनेर सधैं हुन्छ नै भन्न पनि मिल्दैन । भनिन्छ नि– यो जिन्दगी घामछाया हो । यसैमा परिवर्तनको दर्शन विद्यमान छ । परिवर्तनको दर्शन खोज्न र बुझ्न टाढा जानै पर्दैन । हामी त्यसलाई हरेक पल हरेक क्षण भोगिरहेकै छौं । घामपछि छाया हुन्छ । दिनपछि रात, उज्यालोपछि अँध्यारो, आजपछि भोलि, हिउँदपछि वर्षा, जाडोपछि गर्मी, जन्मपछि मृत्यु, सुरुपछि अन्त्य आदि आदि ।
लामो विवरण बनिहाल्छ परिवर्तनका झलकहरूको । परिवर्तनको दर्शन बुझ्न, भोग्न र हेर्न अन्त कतै जानै पर्दैन हाम्रो आफ्नै जीवन काफी छ; चारैतिरबाट परिवर्तनहरुले घेरिएको ।
गौतम बुद्धको क्षणिकवाद (प्रतित्यसमुत्पाद), कार्ल माक्र्सको द्वन्दात्मक भौतिकवाद, डार्विनको क्रमिक विकासवाद र न्यूटनको गति र गुरुत्वाकर्षणको सिद्धान्तले हामीलाई परिवर्तनको दर्शनबाट कतै उम्किन दिँदैन । मान्नुस्– परिवर्तन हाम्रो लागि एउटा छायासरह हो । परिवर्तनको यो छायाले हामीलाई जन्म जन्मान्तरसम्म पछ्याइरहन्छ । तर, यो छाया साह्रै नै लोभलाग्दो र बिर्सिनसक्नु छ । परिवर्तनको यही छायाबाट हाम्रो जिन्दगीको सुरुआत हुन्छ र अन्त्य पनि । हामीलाई जन्म दिनेहरू, पालन पोषण गर्नेहरू, यहाँ टेकेर उभिन सक्ने बनाउनेहरू र यहाँबाट हिँडेर लक्ष्यसम्म पुग्न सिकाउनेहरू पनि यही छायाका भुक्तभोगी हुन् । यहाँ के खर्बपति, के साधारण मजदुर, के विद्वान, के मुर्ख, के गृहस्थी, के सन्यासी; सबै परिवर्तनको छायाका पात्रहरू हुन् । परिवर्तनको रूपमात्र फरक छ, अर्थ र सार भने एकै हो । परिवर्तनको चक्रले हामीलाई यसरी घुमाउँछ कि यो किन र कसरी भइरहेको छ भनेर पत्ता लगाउन खोज्दाखोज्दैमा जिन्दगी जान्छ । तर, पत्ता लाग्दैन । अनि भन्छौ; यो संसार त एउटा भवसागर रहेछ । हामी कहाँबाट आयौं र किन आयौं, अब के गरी यो जिन्दगी चलाउने होला भन्दाभन्दै परिवर्तनको भेलले बगाएर घरि यता घरि उता ठोक्काइरहन्छ । हामी बग्छौं, ठोकिन्छौं, रोकिन्छौं र फेरि बग्छौं । कतै राम्ररी अडिन नपाई परिवर्तनको यो छाँयारूपी महासागरमा पुग्छौं । अनि कसैलाई लक्षित गर्दै गीत गाउछौं– परिवर्तन भयौ के कारण तिमी; यही नै मेरो सोधाइ छ...। परिवर्तनको दर्शनले अरुलाई बदलिदिएको देख्छौं । तर, आफूलाई समेत नराम्ररी बदलिदिएकोचाहीँ देख्दैनौं ।
हरेक कार्यको कारण हुन्छ । अर्थात् बिनाकारण केही पनि हुँदैन । परिवर्तन भन्ने कुरा साश्वत र स्थायी छ, त्यसको पनि कारण छ । यो कुरा दर्शनशास्त्रीय दृष्टिबाट पुष्टि भइसकेको छ । अनेक कारणहरूले आफ्नो काम नगर्ने हो भने परिवर्तन नै हुँदैन थियो । परिवर्तनलाई स्थायी बनाउने कारणहरू सधैं सक्रिय भइरहन्छन् र सबै कुरामा परिवर्तन गराउन मद्दत गरिरहेका हुन्छन् । त्यसैले हामी न परिवर्तनका पाइलाहरूलाई रोक्न सक्छौं न कारणहरूलाई छेक्न सक्छौं । एउटा भनाइ छ– मानिस समयको दास हो । सायद, मानिस धेरै कुराको दास त हुँदै हो र समयको त झन् ठूलो नोकरसरह हो । यहाँ समय भनेको पनि परिवर्तन नै हो । किनीक समय आएपछि अर्थात् अवस्था परिपक्व भएपछि हरेक परिवर्तनहरू भइ हाल्छन् । हामी जानेर वा नजानेर त्यसलाई स्वीकार वा अस्वीकार गर्छौं । जे गरे पनि परिवर्तनको चक्र त रोकिन्न; अनि यहाँ स्वीकार वा अस्वीकारको के अर्थ हुन्छ ?
जसरी पानीले बग्न र तरंगित हुन छाड्दैन । हावाले चल्न र सुस्ताउन छाड्दैन । आगोले बल्न र ताप दिन छाड्दैन । जमिनले आफ्नो उर्वरामा फुल्न र फलाउन छाड्दैन । शब्दले लय सहित अर्थपूर्ण भाषा बोल्न छाड्दैन । त्यसैगरी परिवर्तनले पनि आवश्यक कारणहरू बोकेर अवस्थालाई बदल्न छाड्दैन । परिवर्तन स्थायी र अनन्त छ । यही हो परिवर्तनको दर्शन र सिद्धान्त । यो कुरा मानिस, परिवार, समाज, देश, जगत् र ब्रह्माण्डमा पनि लागू हुन्छ र भइरहेको छ ।
यही परिवर्तनको भेलमा बग्दाबग्दै कसैले आफूलाई मात्र बदल्छन् । कसैले आफ्नो समाजलाई बदल्छन् । कसैले देशलाई बदल्छन् त कसैले विश्वलाई बदल्छन् । यसरी नै भोलि कसैले ब्रह्माण्डलाई बदल्यो भने नभन्नु होला कि; हे भगवान् यस्तो किन भएको । किनकि परिवर्तनको दर्शन र सिद्धान्तले भगवानलाई पनि बदल्न सक्छ । तसर्थ, परिवर्तनको दर्शनप्रति आश्चर्य नमान्नु होला र टाउको पनि नदुखाउनु होला; किनकी यो अत्यन्त स्वभाविक र साश्वत छ ।
(लेखक दर्शनशास्त्रका जानकार हुनुहुन्छ ।)