झुर लेखनले भाषा-साहित्यलाई विकलाङ्ग बनाउँछ

झुर लेखनले भाषा-साहित्यलाई विकलाङ्ग बनाउँछ

शैलेन्द्र अधिकारी  |  साहित्य  |  असोज २५, २०७६

नेपालमा पठन संस्कृति आरम्भ सभ्यताको इतिहासजतिकै लगभग पुरानो छ पढ्ने लेख्ने संस्कृति । जहिल्यै केही न केही जान्न खोज्ने मानवीय स्वभाव र गल्तीबाट केही न केही सिक्ने प्रक्रियाका कारण मान्छेको नवीनताप्रति अभिरुचि बढेको हो । यही नै ज्ञानप्राप्तिको थालनीको सेतु पनि हो । सिन्धु घाँटीको सभ्यता इन्दु हुँदै हिन्दुमा आइपुग्दाको समय, उत्तर वैदिककालीन समयदेखि नै लेख्ने र पढ्ने संस्कृतिको विकास भएको देखिन्छ ।

अहिलेजस्तो वैज्ञानिक र प्राविधिक विकास नभइसक्दा पनि त्यो बेला संस्कृत भाषामा लेखिएका रामायण, वेद, महाभारत, उपनिषद्जस्ता ग्रन्थहरू मुखाग्र भई क्रमशः अर्को पुस्तामा हस्तान्तरण हुँदै गइरहेको भेटिन्छ । तर, त्यसबेला ज्ञानका स्रोतहरू सीमित थिए । निश्चित वर्गका लागि मात्रै थिए । अध्ययन र पठनपाठनको उद्देश्य पनि सीमित थियो । एघारौँ शताब्दीको शिलालेख भेटिएको नेपाली भाषा लामो समयसम्म केवल बोलीचालीमा सीमित रह्यो । ज्ञानार्जनका अन्य विविध विषयहरूमा नेपाली भाषामा कसैले कलम चलाएनन् । वि. सं. १८२५ मा भएको कान्तिपुर एकीकरणपछि सुवानन्ददासले 'पृथ्वीनारायण शाह' कविता लेखे । हालसम्म प्राप्त अभिलेखअनुसार यो नै पहिलो नेपाली भाषाको साहित्यिक रचना हो । शासकीय वन्दनाको स्वरूपमा आएको यो रचना कति पाठकले पढे ? त्यसबेला कति साक्षर थिए ? यो दोस्रो पाटो भए पनि साहित्यिक रचना भने त्यसबेलादेखि नै हुन थालेको भेटिन्छ ।

अहिलेजस्तो वैज्ञानिक र प्राविधिक विकास नभइसक्दा पनि त्यो बेला संस्कृत भाषामा लेखिएका रामायण, वेद, महाभारत, उपनिषद्जस्ता ग्रन्थहरू मुखाग्र भई क्रमशः अर्को पुस्तामा हस्तान्तरण हुँदै गइरहेको भेटिन्छ । तर, त्यसबेला ज्ञानका स्रोतहरू सीमित थिए । निश्चित वर्गका लागि मात्रै थिए । अध्ययन र पठनपाठनको उद्देश्य पनि सीमित थियो । एघारौँ शताब्दीको शिलालेख भेटिएको नेपाली भाषा लामो समयसम्म केवल बोलीचालीमा सीमित रह्यो । ज्ञानार्जनका अन्य विविध विषयहरूमा नेपाली भाषामा कसैले कलम चलाएनन् ।

भानुभक्तले वाल्मीकि रामायणलाई नेपालीमा उल्था गरेपछि यो नेपालीको प्रिय बन्यो । अनपढ नेपालीले पनि लयात्मक हुनाले मुखाग्र सुनाउन थाले । पछि राणाशासनमा पुनः शासकहरूको रुचिअनुसारको रचना हुन थाल्यो । पाठकभन्दा शासकको रुचिलाई ध्यान दिइएको हुनाले यस समयममा शृङ्गारिक विषयले बढ्ता स्थान पायो । पाठकीय पक्ष भने ओझेलमै रहिरह्यो । वर्तमान समयको स्वरूप फेरिइसकेको छ । पढ्ने र लेख्ने तौरतरिका फरक छन् । उद्देश्यहरू पनि फरक छन् । मुख्य कुरा त पढिने र लेखिने विधा पनि फरक छन् । ज्ञानार्जनका अलावा सूचना र सञ्चारका लागि, स्वान्तः सुखायका लागि, मनोरञ्जनका लागि पनि लेखिने र पढिने संस्कार विकसित हुँदै छ । साठीको दशकको कथा विक्रमको साठीको दशकसम्म विद्यार्थीले स्कुलका किताब मात्रै पढ्नुपर्छ भन्ने मानसिकताले नेपाली समाज ग्रस्त थियो ।

उपन्यास लेख्ने र पढ्ने दुवैलाई खासै राम्रो मानिँदैनथ्यो । स्तरीय किताबहरूमा पहुँच पनि कम थियो । पढ्नु भनेको केृवल पास गर्नु हो भन्ने ठानिन्थ्यो । जीवनको सर्वाङ्गीण विकासको लक्ष्य थिएन । पढ्नु, पास हुनु र जागिर खानु नै व्यक्तिको उद्देश्य थियो । पाठ्यक्रमका अलावा जेजस्ता किताबमा पहुँच हुन्थ्यो, ती सबै अधिक सस्तो किसिमका र केवल सस्तो मनोरञ्जनका हिसाबले लेखिएका हुन्थे । त्यसले पनि नेपाली परम्परागत मानसिकतालाई अझ टेवा पुर्‍याइरहेको थियो । साठीको दशकपछि नेपाल इन्टरनेटको दुनियाँमा प्रवेश गरेसँगै यसले अचानक नेपालीहरूको एक किसिमको मानसिकतालाई परिवर्तन गरिदियो । एउटा सानो कोठा नै विशाल संसारमा परिणत भयो । मानिसको चेतना स्तरमा पनि सहसा परिवर्तन आइदियो । पढ्नुपर्छ र सकेसम्म धेरै किताब पढ्नुपर्छ भन्ने मानसिकताले स्थान बनाउँदै गयो ।

फलस्वरूप नेपाली भाषामा लेख्ने लेखकहरूको सङ्ख्या पनि बढ्दै गयो । विविध किसिमका प्रकाशन गृहहरू खुले । राष्ट्रिय अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको क्रम पनि बढ्दै गयो । पचासको दशकको उत्तरार्द्धतिर जब म हाइस्कुल पढ्थेँ, जासुसी उपन्यासहरूको बोलवाला थियो । घरमा उपन्यास त के, धार्मिकबाहेकका कुनै पनि किताब पढ्न छुट थिएन । सत्यकथा, तथ्यकथा र रसरङ जस्ता किताबको छुट्टै बजार थियो तर ती पढ्नलाई ठूलो खतरा मोल्नुपर्थ्यो। कोर्सबाहिरका जुनै किताब पढेको देखे पनि अभिभावक सन्तान बिग्रिएको ठान्थे । हामी युधिर थापा, प्रकाश कोविदहरूका उपन्यास कोर्सका किताबको बीचमा राखेर पढ्थ्यौँ ।

वर्तमान अहिले मेरो बुझाइमा नेपालमा पढाइ लेखाइको हिसाबले हेर्ने हो भने स्वर्णयुग छ । नेपाली भाषामा पनि प्रशस्तै पुस्तकहरूको रचना भएको छ । अभिभावकहरूमा बच्चाहरूलाई पढाउनुपर्छ, उनीहरूलाई कोर्सको साँघुरो घेरामा राख्नुहुन्न भन्ने चेतनाको विकास भएको छ । बालसाहित्यको बजार राम्रो हुँदै गएको छ । यसले पनि भोलिको हाम्रो सुन्दर पठन संस्कृतिलाई सङ्केत गरिरहेको छ ।

साहित्य, दर्शन, राजनीति, इतिहास, भूगोल, धर्मलयागतका यावत् विषयमा लेखकहरूले कलम चलाइरहेका छन् र पाठकले आफ्नो रुचिअनुसारका किताबहरू अध्ययन गर्न पाइरहेका छन् । अहिले नेपालमै बसीबसी संसारको जुनसुकै भूभागमा सिर्जना भएको कृति क्षणभरमै प्राप्त गर्न सकिन्छ । कुनै पुस्तक प्रदर्शनी भएमा पाठकको उल्लेख्य भीड लाग्छ । सबैभन्दा सुन्दर पक्ष त अभिभावकहरू आफ्ना सन्तानसहित किताब किन्न र छान्न आइरहेका हुन्छन् । कुनै समय भनिन्थ्यो, पेरिसको फेसन काठमाडौं दुई हप्तामा आइपुग्छ तर पेरिसकै विचार र दर्शन काठमाडौं आइपुग्न दुई सय वर्ष लाग्छ ।

तर, विस्तारै यो अवस्थामा सुधार आउँदै छ । परिवर्तन आजको भोलि नै हुँदैन तर जुन रफ्तारले पठन क्षेत्रमा परिवर्तन भइरहेको छ, त्यो भने निकै सुन्दर रहेको छ । यसले हाम्रो भोलिको सुन्दर भविष्यलाई पनि सङ्केत गरिरहेको छ । लेखकका लागि चुनौती सबल बन्दै आइरहेको पठन संस्कृति लेखकका लागि भने चुनौती बन्दै गइरहेको छ । पाठकहरू निकै बौद्धिक र सक्रिय छन् । अक्षरको थुप्रो र भाषिक कलात्मकताको जञ्जालले मात्रै अब पाठकलाई अल्मल्याउन सकिने स्थिति छैन । लेखकको नाम र ओहोदाले मात्रै पाठकले विश्वास गर्ने वातावरण पनि देखिँदैन । विषयवस्तुमा नवीनपन, विचारको शृङ्खला, विश्वव्यापी शैली, चामत्कारिक भाषाशैली आदिको मिश्रित गुणले नै पाठकले विश्वास गर्न सक्ने आधार तयार हुन सक्छ ।

लेखकका लागि सबैभन्दा ठूला मुल्याङ्कनकर्ता भनेकै पाठक हुन् । पाठकको दृष्टिमा पास भए मात्रै लेखक पास हुन सक्छ । त्यसैले लेखक पनि सचेत हुनु जरुरी भइसकेको    छ । कुनै पनि लेखकको झुर लेखनले पाठक विकर्षित भएमा त्यो नेपाली साहित्यका लागि अपूरणीय क्षति हुनेछ । यसले सम्पूर्ण भाषा साहित्य नै विकलाङ्ग बन्न सक्छ ।