लोकसंवाद संवाददाता | समाचार | असोज २६, २०७६
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच राष्ट्रपति भवन शीतल निवासमा २०७६ असाेज २५ गते शनिवार विशेष भेटवार्ता सम्पन्न भएको छ ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक राजकीय भ्रमणमा शनिवार काठमाडौं आइपुग्नु भएका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति भवनमा पनि भव्य स्वागत गरिएको थिथाे ।
विशेषरूपमा सजाइएको राष्ट्रपति भवन शीतल निवासमा चीनका अति विशिष्ट पाहुना राष्ट्रपति सी पुग्नु हुँदा राष्ट्रपति भण्डारीले हार्दिक स्वागत गर्नुभएकाे थियाे । उच्चस्तरीय भ्रमणमा नेपाल आउनुभएका राष्ट्रपति सीसँगको औपचारिक भेटवार्तामा दुवै राष्ट्राध्यक्षबीच आपसी हित र द्विपक्षीय सहयोगका विषयमा विस्तृत कुराकानीसमेत भएको छ ।
विशिष्ट पाहुनासँगको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्री पूर्ण सम्बन्ध प्रगाढ छ र अझ विस्तार हुँदै गएको छ भन्नुभयो ।
‘नेपाल र चीन भूगोल र संस्कृतिले नजिकबाट बाँधिएका छन्, सम्बन्धको जग बलियो र अटल छ, बौद्ध दर्शनले दुवै देशलाई मार्गदर्शन गरेको छ’ भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘एक चीन नीतिप्रति नेपाल सधैं प्रतिबद्ध छ र चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्याउन चाहन्छु ।’
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनु भएको जनाकारी अनुसार विनाशकारी भूकम्पको क्षतिका लागि चीन सरकारले पुर्याएको विशेष सहयोगका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई हार्दिक धन्यवाद तथा आभार समेत व्यक्त गर्नु भएको थियो । राष्ट्रपति भवनमा भएको विशेष भेटवार्तामा राष्ट्रपति भण्डारीको भनाइपछि चीनका राष्ट्रपति सीले चीन र नेपाल अत्यन्त घनिष्ट छिमेकीका रूपमा रहँदै आएका छौं र नेपालले ‘एक चीन’ नीतिप्रति राख्दै आएको अडानलाई चीन सरकार धन्यवाद् दिनु भएकाे थियो ।
उक्त उच्चस्तरीय भेटवार्तामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापा, खानेपानी मन्त्री बिना मगरसहित नेपाल सरकार तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ ।