नवराज खतिवडा | साहित्य | असोज २७, २०७६
लगभग तीन दशकअघिको कुरा हो । म त्यसबेला कीर्तिपुरमा बस्थेँ । प्रायः साझा बसमा यात्रा गर्थें । एक दिनको यात्रामा एक जना महिला टेकुमा ओर्लिइन् । ओर्लिएलगत्तै हस्याङफस्याङ गर्दै पुनः बसमा चढिन् । उनको कार्यसूचीमा त्यसबेला एउटा मात्र काम रहेछ । यसैले होला कुनै परवाह नगरीकन भनिन्– ‘मेरो त छोरै बिर्सेछ ।’
उनको छोरो बसमा निदाएको रहेछ । उनी एकसुरमा बसबाट ओर्लिछन् तर बडो इमानदारीपूर्वक आफ्नो अवचेतन स्थिति आत्मसात् गरेर यथार्थ कुरा अरू यात्रुलाई पनि सुनाइन् ।
यस पटकको काठमाडौं–नेपालञ्ज हवाई यात्रामा पनि त्यही घटना स्मरण गर्ने अवसर प्राप्त भयो । चेक इन काउन्टरमा पुग्दा मेरा अघि दुई जना युवती थिए । एक जनाले कम्मरमा सानो बच्चा बोकेकी थिइन् । एकाएक उनीहरूले आपसमा इसारा गरे अनि एकसुरमा जाँच गराउने ठाउँतिर दौडिए । म आश्चर्यमा परेँ । मेरो दृष्टि त्यही आश्चर्यको पछि दगुर्यो । उनीहरूको कार्यसूचीमा पनि अकस्मात् एउटा महत्त्वपूर्ण काम आइलागेछ– सामान जाँचस्थलमा बिर्सिएको झोला फिर्ता ल्याउने । काम फत्ते गरेपश्चात् यात्रुहरूको लाममा उनीहरू अब मेरो पछि लागे ।
मैले रोमाञ्चित हुँदै उनीहरूलाई सम्बोधन गरेँ– ‘कसो नानी नै बिर्सिएन ।’
‘काखको नानी पनि बिर्सिएला त !’
साथमा भएको काखको बच्चा र झोलालाई मैले एउटै गजोले नापेर त्यो अभिव्यक्तिको तीर तेस्र्याएको थिएँ । नानी च्यापेकी युवतीको रक्षात्मक तर्क मिश्रित उनीहरूको हाँसो छताछुल्ल भएर पोखियो । मैले उभिँदाउभिँदै तीस वर्षअघिको प्रसङ्ग सुनाएँ । कुरैकुरामा मेरो बोर्डिङ पास लिने काम सकियो । म प्रस्थान कक्षतिर लागेँ । उडान हुन केही समय बाँकी थियो । खाली कुर्सी खोजेर म विद्यार्थीहरूको गृहकार्य जाँच गर्न थालेँ । एक्सासि मेरो ध्यान बिथोलियो । तिनै युवती एउटा हातले बच्चा च्यापेर अनि अर्को हातमा दुईवटा झोला झुन्ड्याएर मेरो आडमा बस्न आइपुगिन् । उनको अनुहारमा प्रसन्नता थिएन ।
‘बच्चाको साथै सामान पनि भएकाले भित्रसम्म आउन मिल्ने पास लिएको थियो तर उहाँलाई आउनै दिएन ।’
पृष्ठभूमिका यी अप्ठ्यारालाई आधार बनाएर हवाई यात्रामा दुई झोला र बच्चा सम्हाल्नुपर्ने सम्भाव्य अप्ठ्यारोको सङ्केत गरिन् । मैले सहयोगी हात फैलाएँ ।
‘म मद्दत गरौँला नि त !’
उनको कुनै जवाफ आएन तर मैले भने मौनतामा स्वीकारोक्ति भएको अनुमान गरेँ । अब विद्यार्थीको कापी जाँच थाँती राख्ने प्रेरणाको उदय भइसेकेको थियो । मेरा अगाडि दुई मात्र थिए । बच्चीको नाम श्रेया रहेछ । उनीहरू अस्ट्रेलियाबाट केही दिनअघि मात्र नेपाल आएका रहेछन् । काठमाडौंमा केही दिन बसेर श्रेयाको मामाघर जान लागेका रहेछन् । बच्चीका बुबा अस्ट्रेलियामा नै काम गर्दा रहेछन् ।
‘अस्ट्रेलियामा सानो बच्चा लिएर हिँड्न सजिलो छ तर यहाँ कति गाह्रो !’– श्रेयाकी आमाले भनिन् ।
‘बच्चा बोक्ने क्यारियरको व्यवस्था गरेर हिँड्नुभएको भए सजिलो हुन्थ्यो नि त !’
‘यस्तो अप्ठेरो पर्ला भन्ने चिताइएन ।’
उनको उत्तरले मलाई अलिक आश्चर्यमा पार्यो । काखमा पहिलो बच्चा थियो । अस्ट्रेलिया जस्तो सुविधा सम्पन्न मुलुुकमा हुर्काउँदा पनि बच्चा स्याहार्ने आधुनिक तरिकाको ज्ञान नहुनु आश्चर्यकै विषय हो अथवा ज्ञान भएर पनि नेपाली पाराको बानी ‘चलिहाल्छ नि वा भइहाल्छ नि’ले काम गरेको हुन सक्ने अनुमान मैले गरेँ । श्रेयाले भोक लागेको सङ्केत दिइरहेकी थिई । उनी बोतलमा पाउडर दूध बनाएर ख्वाउन थालिन् ।
उडानको सङ्केतसँगै म आकस्मिक तवरमा आइलागेका दुईवटा र आफ्नो गरी तीनवटा झोलाको भारी बोकेर विमानसम्म जाने बसमा उनको पछिपछि गएँ । साँच्चिकै उनैले भनेको जस्तो भयो । सानो बच्चा भएकी आमा वा अरू कुनै असहाय यात्री भए पनि उसलाई मद्दत गर्न विमानका कर्मचारी वा कुनै यात्रु नै तयार थिए । बसमा यात्रुसँगै जाने विमानका कर्मचारी आफ्नै धुनमा थिए । मेरा सहयात्री आमा–छोरी हिँड्ने बाटोको अर्कोपट्टि ठ्याक्कै दाहिनेतिरको सिटमा परे । श्रेया घरिघरि उसलाई असहज भएको सङ्केत गर्थी । आमा युवती उसलाई ठूलो बच्चालाई जस्तो गरेर भन्थिन्– ‘श्रेया ! तिमीलाई के भयो ? किन मामुलाई दुःख दिएको ? ल एकछिन ज्ञानी होऊ त !’
हाम्रा गाउँघरतिर भने सार्वजनिक स्थान वा अपरिचित व्यक्तिहरूका अघिल्तिर पनि लाजै नमानी स्तनपान गराउने चलन अझै पनि छ । शहरमा पनि महिलाले स्तनपान गराउने चलन अझै पनि छ । शहरमा पनि महिलाले स्तनपान गराउन सजिलो हुने पहिरन ब्लाउज वा चोली लगाउँथे । आजकल यस्तो देखिन छोडेको छ ।
शिशु हुनुको यथार्थ त्यही हो सायद– कार्यसूचीमा एक बुँदे माग हुनु । माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्नु । उस्तै परे अनशनमा बस्नु । आफूलाई सम्हालिरहेको पात्रको जसरी भए पनि ध्यानाकर्षण गर्नु । आमाको अभिव्यक्ति र प्रयासले उनको विद्रोहको आगो निभाउने काम गर्न सकेको थिएन । श्रेयालाई बोतलको खानाले पनि भुलाउन सकेको थिएन न त खेलौना जस्ता कुनै भौतिक वस्तुले । म घरिघरि उनको ध्यानाकर्षण गर्ने प्रयास गर्थें– हातको हाउभाउ र आवाजले । आफ्नै आमा असफल भएको अवस्थामा कुनै पराईले त्यो स्थान पाउने सम्भावना झिनो थियो ।
त्यो परिस्थितिले मेरो दिमागमा एउटा नयाँ विचार जन्मायो । श्रेयाले आमाको दूध खान खोजेको हो कि ! प्रस्थान कक्षको बसाइदेखि त्यसबेलासम्म युवतीले स्तनपान गराएको देखिएन । एक मनले भन्यो– ‘सायद आमाको दूध खाने अवसर श्रेयाको भाग्यमा लेखेको छैन । अस्ट्रेलियामा जन्मिएर हुर्कनु र आधुनिक संसारको भोग गर्ने आमा पाउनुको नियति यस्तै हुन सक्छ । रूप बिग्रने डरले कैयौँ युवतीहरूले आफ्ना बच्चालाई स्तनपान नगराएर ‘पूर्ण आमा’ बन्ने अवसरबाट आफूलाई वञ्चित गराएका छन् ।’ तुरुन्तै मैले एक अठोट गरेँ– छुट्टिने बेलासम्ममा म यो विषय खोतल्छु र कस्तो जवाफ आउँदोरहेछ हेर्छु ।
आमा र स्तनपासँग जोडिएको एक रोचक प्रसङ्ग केही दिनअघि फेसबुकमा भेटिएको थियो । एक पटक सुनेपछि सधैँ सम्झिने थोरै मात्रै विषय हुन्छन् । कवितात्मक शैलीको त्यो हिन्दी सामग्रीको भाव यस्तो थियो– एक पटक आफ्नो बाल्यकालमा फर्कनुहोस्, जतिबेला तपाईं आमाको काखमा लुट्पुटिँदै स्तनपान गर्नुहुन्थ्यो । त्यसबेला तपाईंले आमाको एकातिरको स्तन मुखमा लिएर अर्को स्तनमा आफ्ना ससाना खुट्टाले कैयाँै पटक हिर्काउनुभयो होला तर आमाले कहिल्यै पनि स्तनपानबाट तपाईंलाई विमुख गर्नुभएन र एकातिरको अङ्गले चोट सहन गर्दै अर्कोतिरको अङ्गले अमृत पिलाउन सक्ने अद्वितीय क्षमता परमपिता परमेश्वरले कसैलाई दिएको छ भने ती आमा हुन् ।’
पक्कै हो, स्तनधारी प्राणीका बच्चाका लागि सृष्टिकै सबैभन्दा विशिष्ट खाना हो आमाको दूध । आमाको एउटा हातको सिरानी र अर्को हातको बिछ्यौना सायद संसारकै सबैभन्दा आरामदायी शयनकक्ष हो । स्तनपान गराउँदा गराउँदै आमाका हातका औँलाहरूले ताल मिलाएर गरेको स्पर्श वा कपाल मुसारिदिँदाको अनुभूति काखमा लुट्पुटिएको नानीका लागि निद्राको संसारमा पुर्याउने अचुक अश्त्र हो । यसैले नेपाली लोकोक्तिले भन्छ– आमाको काख, अरूको लाख ।
लामो समयसम्म यस्तो अमूल्य अमृतपान गर्न पाउने भाग्यमानी सन्तानमा म पनि पर्छु । स्कुल जाने उमेरसम्म पनि मेरो यो बानी थियो रे ! कहिलेकाहीँ स्मरण गराउनुहन्छ मेरी आमाले । मेरी बहिनी र मेरो उमेरको बीचमा लामो अन्तराल भएकाले पनि सायद यस्तो भएको हो । स्तनपान गराउने चाहना हुँदाहुँदै पनि प्राविधिक कारणवस कहिलेकाहीँ यो सम्भव नहुन सक्छ । कसैकसैको दूध नै नआउने वा कम आउने भन्ने सुनेको छु । मेरी छोरीले पनि केही महिनापश्चात् यो अवसरबाट वन्चित हुन्पर्यो । कारण थियो– आमाको स्वास्थ्यमा प्रतिकूलता ।
श्रेयाको विद्रोह अझै चर्कंदै थियो । यात्राको वातावरण र पहिरन स्तनपान गराउन अनुकूल नभएर समस्या भएको हो कि ! सृष्टिकर्ताले लाजका गहना र शिशुको आहाराको स्रोत एउटै बनाइदिएका छन् । विज्ञानले भन्छ– त्यो त खालि करौडौँ कोष र लचकदार मांसपेशीको डल्लो हो । माग र परिस्थितिअनुसार कहिले कामवासना त कहिले सबैभन्दा पोषिलो आहारा ओकल्छ ।
आधुनिक जमानामा अझ अन्य विशेषता थपिएको छ । लाजका गहनाको आकार, प्रकार र पूर्णता जोडिएको छ– नारीको रूप, सौन्दर्य र व्यक्तित्वसँग । आकर्षक शरीर आवश्यक पर्ने चलचित्रको पात्र तथा मोडेलिङ गर्ने नारीहरूका लागि यिनको महत्त्व अझ बढी छ । हाम्रा गाउँघरतिर भने सार्वजनिक स्थान वा अपरिचित व्यक्तिहरूका अघिल्तिर पनि लाजै नमानी स्तनपान गराउने चलन अझै पनि छ । शहरमा पनि महिलाले स्तनपान गराउने चलन अझै पनि छ । शहरमा पनि महिलाले स्तनपान गराउन सजिलो हुने पहिरन ब्लाउज वा चोली लगाउँथे । आजकल यस्तो देखिन छोडेको छ । विमान आफ्नै गतिमा उडिरहेको थियो । मेरो नजिकको सिटमा भने सलल बग्नुपर्ने मातृत्वमा कुनै अवरोध रहेको जस्तो भान परेर होला, त्यसबेला मेरो मन मस्तिष्क यिनै आरोह अवरोहले भरिएको थियो ।
हामीले लगभग आधा दूरी तय गरिसकेका थियौँ । एकाएक श्रेयाको उकुसमुकुस बन्द भएको सङ्केत आयो । सायद निद्रा लागेको हो कि भनेर मैले आमा–छोरीतिर पुलुक्क हेरेँ । मेरो अघिको शङ्काको पहाडमा एकाएक भुइँचालो आयो । युवती श्रेयालाई स्तनपान गराइरहेकी थिइनन् । उनको माथिको लुगा परम्परागत नभएर आधुनिक जस्तो देखिन्थ्यो । ब्लाउज जस्तो देखिने त्यो लुगाको पुछारको भागलाई अलिकता माथि सारेर श्रेयाको माग पूरा गरिएको थियो । हाम्रा आमा, हजुरआमासँग पछ्यौरा हुने गथ्र्यो । त्यसले आमाको वक्षस्थल र शिशुको अनुहारसमेत छोप्न मिल्थ्यो । त्यसले आमाको लाज र सङ्कोच मेटिदिन्थ्यो । युवतीप्रतिको मेरो सोच एकाएक परिर्वतन भयो । मलाई एक किसिमको आनन्दको अनुभूति भयो । मनमनमा भनेँ– ‘स्तनपान गराएर उनले पूर्ण आमा भएको पुष्टि गरिन् ।’
लगभग एक दशकअघिको अर्को प्रसङ्ग ताजा भएर आयो । मेरी श्रीमती अध्ययनको सिलसिलामा २ वर्षका लागि जापान गएकी थिइन् । छोराछोरीको हेरदेख गर्ने पूर्ण अभिभारा मेरो काँधमा थियो । मेरा साडुदाइ केशव आचार्यले त्यही मौकामा एक दिन हाम्रो परिस्थितिलाई लक्षित गरेर भन्नुभयो–
‘यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुख्ख छैन मनमा बिर्से नि आमा भनी ।।’
राष्ट्रकवि माधव घिमिरेले लेखेका यी हरफ एकै भनाइमा मस्तिष्कले टिप्यो र अहिले पनि कण्ठस्थ छन् । यसरी आमाको अभाव बेहोरेका प्रत्येक बुबाको मन कसरी भक्कानिँदोरहेछ भनेर मैले पनि चाल पाएँ । यसै कारण होला छोराछोरीका लागि आमाको जति महत्त्व छ, बुबाको पनि कम छैन । कसैले भनेका छन्– ‘बुबा र आमा, यी दुई पात्र यदि तपाईंसँग छन् भने तपाईं संसारकै वैभवशाली व्यक्ति हुनुहुन्छ ।’
परिचारिकाले नेपालगञ्जमा विमान अवतरण गर्न लागेको सङ्केत दिइन् । मैले फेरि युवतीका झोला सम्हालेँ । आगन्तुक कक्षमा श्रेयाका हजुरबा र हजुरआमा लिन आएका रहेछन् । आमाको मन पनि बच्चाको जस्तै त हो ! कतिबेला छोरी र नातिनीको मुहार हेर्न पाइएला भनेर एक सूत्रीय पर्खाइमा रहिछन् बुढीमान्छे । भविष्यको समेत हिसाब गर्दा मेरै अघि तीन जना आमाहरूको अपूर्व मिलन भयो । मैले सोचेँ– श्रेयाकी हजुरआमाले पनि पक्कै स्तनपान गराएको हुनुपर्छ । यसैले त्यहाँ भेला भएका दुई नारीलाई ‘पूर्ण आमा’को उपाधि दिन सकिन्छ । एक दिन श्रेया पनि भविष्यकी आमा हो । ऊ पूर्ण आमा बन्ली त ? यो मेरो प्रश्नको उत्तर सायद उनै सृष्टिकर्ता या त समयले मात्र दिन सक्लान् । अफसोच, पहिलोको यहाँ प्रत्यक्ष उपस्थिति छैन, दोस्रोले उत्तर दिने बेला नै भएको छैन ।
समयले त अब मेरा हवाई यात्रामा भेटिएका पात्रहरूसँग छट्टिनुपर्ने बेला भएको सङ्केत दिइरहेको थियो । यसैले उनीहरूसँग बिदाइका हात हल्लाउँदै म आफ्नो गन्तव्यतिर लागेँ ।
(खतिवडाको ‘झोलाको बार’ कृतिबाट ।)