तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि

तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असोज २८, २०७६

पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यू स्टार, सौराहा, पिठुवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

आयोजकले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिनुभयो । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

देशभरबाट ४०० खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही एक/एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिनुभयो ।

यस्तै, अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वद्यिालयमा सन् २०२० को मे १ र २ मा हुने १३औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।