नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकुद (साग)को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्यीय नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि बुधबार त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो । कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्त्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गर्नुभयो ।
उहाँले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिनुभयो । त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताउनुभयो । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।