कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह 'बी'को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रङ्गशालामा गए रात भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक/एक गोल गरे । खेलको ५६औँ मिनेटमा फेरासले पेनाल्टीमार्फत् एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरासले गोल गरेका थिए ।
यस्तै. खेलको ८७औँ मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए भने खेलको ८८औँ मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जीत दिलाए । समूह 'बी'मा अस्ट्रेलिया नौ अङ्कका साथ शीर्षस्थानमा छ भने सात अङ्क जोडेको जोर्डन दोस्रो स्थानमा छ । चार अङ्क बनाएको कुवेत तेस्रो, तीन अङ्क बटुलेको नेपाल चौथो तथा एक अङ्क पनि बटुल्न नसकेको चाइनिज ताइपेई अङ्क तालिकाको अन्तिम स्थानमा छ ।