दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरूले जनाएका छन् ।
मङ्गलबार अपराह्न ५ बजे सो घटना भएको बताइएको छ । उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त गुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिनुभएको छ । तर, यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्नेबारेमा भने केही खुलाएका छैनन् ।
उहाँले उक्त राज्यमा सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरूमाथि सशस्त्र समूहका सदस्यहरूले आक्रमण गरेका थिए । उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिनअघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरेको केही दिनपछि मङ्गलबार अपराह्न फेरि यो अर्काे घटना भएको बताइएको छ ।
गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरू हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । यहाँ कम्तीमा पनि २० वटा सशस्त्र समूहहरूले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ । उक्त राज्यमा लागुऔषधका कारोबारीहरू अरू राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् । सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरूमाथि हमला हुने यस्ता हिंसात्मक घटनाहरू प्रायः हुने गरेका छन् ।