हरिविनोद अधिकारी | दृष्टिकोण | असोज २९, २०७६
द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी । पाँच नाथ अर्थात् पञ्च पाण्डव-युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव । बडो नाटकीय तरिकाले पाँच जना कौरवसँग विवाह भएको देखिन्छ । कौरव किन भनेको भने वास्तवमा धृतराष्ट्र र पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरूलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचवटा छोराहरूलाई पाण्डव भनिएको हो ।
द्रुपद महाराजले आचार्य द्रोणसँग बदला वा प्रतिशोध लिनका लागि यज्ञ गरे । त्यही यज्ञबाट किशोर एक जना र किशोरी एक जना उत्पन्न भएको बताइन्छ महाभारतमा । हो, तिनै किशोरीलाई नै नामकरण गरिँदा कृष्णा भनियो, जो याज्ञसेनी हुन् अर्थात् यज्ञको झर्झराउँदो ज्वालाबाट फुत्त निस्किइन् । अर्को किशोरसँगै । अर्थात् जुम्ल्याहा सन्तान, जसको नामकरण धृष्टद्युम्न भनेर गरियो । तिनै धृष्टद्युम्न नै महारभारतको युद्धमा पाण्डवतर्फका सेनापति थिए । बहिनीको पक्षमा लड्न गएका तर भित्री रूपमा आचार्य द्रोणको निधनका कारक बन्नका लागि जन्मिएका । यसको पनि कारण थियो किनभने दु्रुपद जब महाराज भए, उनका साथी द्रोणले केही अपेक्षासहित भेट्न जाँदा अपमान गरेका थिए ।
वास्तवमा गाई चाहन्थे द्रोण अनि साथी द्रुपदले आधा राज्य दिने वाचा गरेका थिए गुरुकुलमा बस्दा । लाग्यो, द्रोणलाई मिल्ने साथी राजा भएको छ, छोरो अश्वत्थामा पनि जन्मिएको छ कृपीको गर्भबाट । केही त देलान् बस्न, खान र पढाउनका लागि । भित्रचाहिँ राज्यको केही भागको समेत लालसा थियो क्यारे ! तर द्रुपदले अपमान गर्दै एउटा ब्राह्मणको मगन्ते गुरु मेरो कसरी साथी हुन सक्छ भन्दै लाञ्छना लगाए । त्यहीँबाट सुरु भयो प्रतिशोध । पछि उनै द्रोणाचार्यले कुरुकुलमा गरुकुल चलाए । पढाए । धृष्टद्युम्नलाई पनि पढाए, शिखण्डीलाई पनि पढाए कौरव र पाण्डवसँगै ।
सूतपुत्र कर्णलाई भने वास्ता नगरेको पाइन्छ द्रोणले पनि भीष्म पितामह अर्थात् ज्येष्ठ कुरा देवव्रतले पनि । कर्णमा एउटा विद्रोह भित्रभित्रै दन्केको थियो, धृष्टद्युम्नमा प्रतिशोध जमेको थियो, कृष्णासँग पाँच जनाकी पत्नी हुनुपरेकोमा क्षुब्धता बढेको थियो, दुर्योधनमा काकाका छोराहरूले राज्य गर्ने हुन् कि भन्ने कारणले जसरी हुन्छ उनीहरूलाई वैधानिक रूपमा राज्य वञ्चित गर्ने छुद्रता बढेको थियो, शकुनिमा आफ्नी साख्खै बहिनी गान्धारीलाई जन्मान्ध धृतराष्ट्रको जिम्मा लगाएकोमा पूरा कौरव वंशसँगै बदला लिने भित्री इच्छा थियो ।
शिखण्डी उभयलिङ्गी अर्थात् क्लीव राजकुमार थिए या राजकुमारी थिइन् । अघिल्लो जुनीमा अम्बाको रूपमा उनले पाएको हन्डर अर्कै छ, जसका कारणले शिखण्डी भएर दु्रपद महाराजका सन्तानका रूपमा जन्म लिएको देखिन्छ । छोरी भएर जन्मे पनि छोरा जस्तै व्यवहार गरियो र विवाहसमेत भएको थियो । पछि उनको लिङ्ग परिवर्तन भयो र पुरुषको रूपमा गणना गरियो । ती पनि महाभारतमा महारथीका रूपमा लड्न आएका थिए बहिनीका पक्षमा । तर, उनको लक्ष्य भनेको देवव्रत अर्थात् ज्येष्ठ कुरा भीष्म पितामहको हत्या गरेर अघिल्लो जुनीको दुःखको बदला लिनु थियो । सबैको कोही न कोहीसँग केही न केही कुरामा प्रतिशोध लिनै पर्ने देखिन्छ महाभारतको सम्पूर्ण अध्ययन गर्दा ।
द्रौपदीलाई धृष्टद्युम्नकी बहिनी नै भनौँ अब, किनभने को पहिले जन्मियो भन्दा पनि महाभारतमा धृष्टद्युम्नलाई पुरुष क्षमताको तर्फबाट नेतृत्व गर्ने बनाइयो भने कृष्णालाई प्रकृतिका तर्फबाट महाभारतको कारण बनाइयो । हो, तिनै कृष्णालाई भनियो द्रौपदी, पाञ्चाली, यज्ञसेनी या याज्ञसेनी । कृष्णा उनको नाम एक प्रकारले न्वारनकै भन्नुपर्यो । महाराज द्रुपदकी छोरी भएकीले उनलाई द्रौपदी भनियो । पाञ्चाल राज्यकी राजकुमारी भएकीले पाञ्चाली भनियो र यज्ञबाट उत्पन्न भएकीले याज्ञसेनी भनियो । पाँचवटा ब्राह्मण कुमारहरूसँग उनको विवाह भयो, जो वास्तवमा पाण्डुकुमार थिए तर थिए ब्राह्मणको भेषमा ।
त्यसबेलाको उत्तर वैदिक समयमा कुल निर्माण र निरन्तरताका लागि पतिको आदेशमा पत्नीले नियोग गरेर बच्चा जन्माउने चलन थियो । जस्तो कि मरिसकेका विचित्रवीर्यका नामबाट व्यासमार्फत् अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासीमार्फत् विदुर जन्मिएका थिए । ती तीनै जना कुमारहरूको पिताको नाम विचित्रवीर्य नै थियो ।
वार्णव्रतबाट सुरुङको बाटोबाट भागेपछि पाण्डवको भेष राजकुमारबाट ब्राह्मण कुमार भएको थियो । त्यही भेषमा नै द्रुपद महाराजको घोषणाबमोजिमको शर्त पूरा गरेर द्रौपदीलाई स्वयंवरका लागि योग्य भएका थिए । शर्त थियो, युद्ध कौशल वा वाणको कौशल । तल पानीमा हेरेर फनफन घुमिरहेको चक्रमा रहेको माछाको आँखामा निशाना लगाउनु जो थियो । अङ्गदेशका मानार्थ राजा कर्णले त त्यो शर्तबमोजिमको कौशल पूरा गरेका थिए तर सूतपुत्र भनेर द्रौपदीले स्वयंवरमा समेत बस्न अस्वीकार गरिन् । पालो आयो ब्राह्मण कुमारको, जो वास्तवमा अर्जुन थिए । उनले कौशल पूरा गरेर अरूले गर्न नसकेको काम फत्ते गरेर द्रौपदीका हकदार भए । दिउँसोभर माग्दा जेजे पाइन्छ कुमारहरूले बसेको डेरामा लैजाने र राजमाता कुन्तीको आदेशबमोजिम बाँडेर लिन्थे ।
यहाँ पनि राजकुमारीलाई अर्जुनले युद्ध कौशलद्वारा जिते पनि घरमा लिएर गएपछि आमालाई चकित पार्नका लागि आफूले ल्याएको चिज हेर्न अनुरोध गरे । माता कुन्तीले पाँच जना बाँडेर लिनू भनेपछि त्यहाँ असमन्जस्य बढ्यो । कुन्तीको मुखबाट कुरो बाहिर आयो, बाँडेर लिने कुरा भयो तर कसरी त ? एउटी राजकुमारीलाई पाँच जना कुमारहरूले कसरी बाँड्ने त ? समस्या आयो । बल्ल श्रीकृष्ण र व्यासले अघिल्लो जुनीमा नै तय भएको पाँच पतिको भाग्य अहिले पूरा भएकाले यसमा कुनै अप्ठ्यारो नहुने बताएपछि कुरो मिल्यो र पाँच जनासँगै बेग्लाबेग्लै पाणिग्रहण सम्पन्न भएको थियो । त्यसैले पाण्डव जस्ता महारथीहरूकी रानीले चीरहरण जस्तो बेलामा मौन बस्दा भनियो– पाँच नाथकी अनाथिनी ।
युधिष्ठिर धर्मराजका अंश, भीम महाबली वायुका अंश अर्जुन स्वर्गका राजा ईन्द्रका अंश थिए, जो कुन्तीका गर्भबाट जन्मिए । अनि माद्रीको गर्भबाट जन्मिनेमा परे नकुल र सहदेव, जो जुम्ल्याहा पनि हुन् र उनीहरू जुम्ल्याहा देवता अश्विनी कुमारका सन्तान हुन् । तर, त्यसबेलाको उत्तर वैदिक समयमा कुल निर्माण र निरन्तरताका लागि पतिको आदेशमा पत्नीले नियोग गरेर बच्चा जन्माउने चलन थियो । जस्तो कि मरिसकेका विचित्रवीर्यका नामबाट व्यासमार्फत् अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासीमार्फत् विदुर जन्मिएका थिए । ती तीनै जना कुमारहरूको पिताको नाम विचित्रवीर्य नै थियो । यसरी नियोगको अर्को चरणमा पाण्डुकी पत्नीहरू कुन्ती र माद्रीबाट छोराहरू जन्माइए पाण्डुको आदेशमा । त्यसैले ती सबै सन्तान पाण्डुकै मानिए र पाण्डव भनिए ।
क्रमशः