निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजारमा बुधवार प्रति तोलामा १०० रुपैयाँ कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रति तोला ७० हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । सोमवारको तुलनामा मङ्गलवार भने सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रति तोला १०० रुपैयाँ घटेको छ । आज तेजाबी सुनको मूल्य प्रति तोला ७० हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
मङ्गलबार तेजाबी सुन प्रति तोला ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रति तोला १० रुपैयाँ घटेर तोलाको ८५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।