टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख बढी मानिसहरू विस्थापित भएका मानवअधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ ।
मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख बढी सर्वसाधारण विस्थापित भइसकेका बताउनुभएको छ । बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्न सक्ने पनि उहाँले थप जानकारी दिनुभएको छ ।
विस्थापितहरूले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि कोही बगैँचामा सुतिरहेका थिए भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका अब्देल रहमानले बताउनुभएको छ । उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिस समर्थकहरूले नियन्त्रण गरिरहेका क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला सुरु भएको थियो ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।