साताको अन्तिम दिन बिहीवार धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो ।
स्टकका अनुसार आज कुल १६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख ९४ हजार ९०५ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर बढे भने चार उपसमूहको शेयर घटे । बैंकिङ ०.७५ अङ्कले बढ्दा जलविद्युत् ३.७९, फाइनान्स २.४४, निर्जीवन बीमा ३६.८६, माइक्रो फाइनान्स २.७१, जीवन बीमा १३.०७ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढ्यो । यसैगरी होटल १.८८, विकास बैंक १०.१३, उत्पादन २.६९ र अन्य उपसमूहको शेयर २.६ अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर कुल एक करोड ९९ लाख ९८ हजार ८४९ रुपैयाँमा खरिद बिक्री भयो । त्यस्तै, मेगा बैंक लिमिटेडको संस्थापक शेयर एक करोड ५७ लाख १७ हजार २०८, सनराइज बैंक लिमिटेडको एक करोड १० लाख २० हजार ४३८, कृषि विकास बैंकको ६३ लाख ४८ हजार ४४८ र नविल बैंक लिमिटेडको शेयर ६२ लाख सात हजार २३ रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
परिसूचक बढे पनि माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२५ प्रतिशतले गुमाए । त्यस्तै, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी ३.७३, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.२७, ओरियन्टल होटल लिमिटेड २.५९, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २.५ प्रतिशतले गुमाए ।
स्टकका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताले ८ प्रतिशतले कमाए । त्यसैगरी नविल इक्विटीफण्ड ७.९५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.५२, एनएलजी इन्स्योरेन्स कम्पनी ४.७९ र बेष्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.४४ प्रतिशतले कमाए ।