विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो ।
यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो । पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । विराटनगरको जीतमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रनको योगदान दिँदा ज्योति पाण्डेले २२, अश्मिना कर्माचार्यले अविजित १६ तथा डोली भट्टले १२ रन जोडिन् । बलिङतर्फ पोखराकी सीता राना मगरले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको थियो । पोखराका लागि कविता कुँवरले अविजित २२ रन जोड्दा सीता राना मगरले १६, अञ्जली चन्दले १५, रेवती धाँमीले १२ तथा सरस्वती मगर १० रनमा अविजित रहिन् ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा विराटनगरकी सवनम राईले २ विकेट लिइन् भने सोनु खड्काले १ विकेट झारिन् । जीतसँगै विराटनगरले दुई खेलमा ४ अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले सात लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।