लोकसंवाद संवाददाता | साहित्य | कात्तिक ०१, २०७६
ऋतुअनुसार मौसम फेरिएझैँ
मानिसहरू आफ्नो चरित्र फेरिरहेछन्
यस्तो लाग्छ, यिनीहरू छेपाराहरूबाट
बढी नै प्रभावित भएछन् ।
हिजो के थिएँ ? को थिएँ ?
पहिचान के थियो र अस्तित्व के ?
मानौँ,
यिनीहरूको मस्तिष्क
कुनै फर्म्याट गरिएको कम्प्युटरको हार्ड डिस्क हो ।
मदिराको मातले मान्छे
कहिलेसम्म विस्मृतिमा जाला ?
चुरोटको धुवाँले
के यो सिङ्गो वायुमण्डल छोप्न सक्ला ?
आफ्नै पदचापलाई भुल्नेहरू
पसिनाको कथालाई बिर्सनेहरू
यिनीहरू केवल
सासै फेर्नलाई मात्रै बाँचिरहेका छन् ।
बाको संरक्षण
आमाको ममता
प्रियको प्रेम
मित्रको स्नेह र सहयोग
के यो हरियो डलरका लागि मात्रै हो ?
उद्देश्य
ऐस, आराम र असर्फी मात्र हो ?
जब 'म'लाई 'म'को बोध छैन
के गर्छौ सम्पत्तिका रासहरू ?
असर्फीका चाङहरू ?
त्यसले पुछ्न सकेन आमाको आँसु
मित्रको चहर्याएको घाउमा
सकेन कुनै मह्लम लगाउन ।
प्रिय मित्र !
तिमीले आफ्नो अस्तित्व बेचेर
कमायौचाहिँ के ?
जुन दिन तिमीलाई यी सबैको बोध हुनेछ
तिमीसँग केही बाँकी रहनेछैन
- शिवाय शून्यता !
जहाँ तिमी आफैसँग पनि
बातचित गर्न हिच्किचाउनेछौ ।