शैलेन्द्र अधिकारी | साहित्य | कात्तिक ०२, २०७६
निबन्ध विचारको कलात्मक अभिव्यक्ति हो भन्ने कुरामा सायदै दुई मत होला । साहित्यका चार विधामध्ये सबैभन्दा बौद्धिक विधा पनि मानिन्छ निबन्धलाई । त्यसैले पनि होला वर्तमान समयसम्म आइपुग्दा पनि त्यति धेरै सर्जकहरूले यस विधामा कलम चलाएका छैनन्, जति अरू विधामा चलाएका छन् । पाठकको सङ्ख्या पनि जति अन्य विधातर्फ बढी आकर्षित छ, त्यति यस विधाप्रति देखिँदैन ।
तर, समय समयमा केही निबन्धकारहरू बजारमा हस्तक्षेपकारी लेखनी बोकेरै आउँछन् । देवकोटा, भूपि, लामिछाने हुँदै भूपिन अनि अघिल्लो साल 'छुटेका अनुहार' लिएर आएका रमेश सायन र अहिले 'जीवाश्म' लिएर आएका शीतल गिरी ।
खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कारप्राप्त कुल २५ थान निबन्ध संगृहीत 'जीवाश्म' निबन्धसङ्ग्रह १६० पेजको रहेको छ । आकारले छोटा तर विषयवस्तुको सघनताले निबन्धहरू उत्कृष्ट बन्न पुगेका छन् । सन्दर्भसूचीको प्रयोग गरेरै लेखिएकाले लेखकले अनुसन्धानमा गरेको मिहिनेत, उनको विद्वता र क्षमतालाई पनि प्रस्तुत गरेको छ ।
निबन्ध लेखनका विविध शैलीहरू प्रचलित छन् । लेखन पहिलो कुरा हो र शैली दोस्रो कुरा । लेखकले आफ्नो सहजता र प्रस्तुतिको विशिष्टीकरणका लागि शैलीको निर्माण गरेको हुन्छ । जीवाश्म निबन्धकृतिमा विचारको कलात्मक प्रस्तुतिलाई आख्यानात्मक ढङ्गबाट कुशलताका साथ प्रस्तुत गरिएको छ । प्राग्ऐतिहासिक विषयलाई पुस्तकको आरम्भमै उठाइएको छ । भेडापाल, महिषपाल, माछामार, गोपाललगायतका नेपालका ऐतिहासिक विषयलाई उनले निबन्धमा प्रस्तुत गरेका छन्, जहाँ पाठकले आख्यानात्मक स्वादको रसास्वादन गर्न पाउनेछन् ।
निबन्धलेखनमा प्राग्एतिहासिक विषय उठाउनु र त्यसमा सन्दर्भ सूचीले प्रमाणित पनि गर्नु कठिन, दुसाध्य र जोखिमयुक्त कार्य हो । उक्त जोखिम गिरीले कुशलताका साथ निर्वाह गरेका छन् । र्मौलिक चिन्तनबाट कसरी इतिहासलाई विश्लेषण गर्न सकिन्छ र पाठकका लागि कसरी रोचक बनाउन सकिन्छ भन्ने कुरा यहाँ प्रस्तुत भएको देखिन्छ ।
दर्शनका ठेलीहरू नपल्टाईकन दार्शनिक अभिव्यक्ति दिने जीवाश्मका निबन्धहरू पाठकका लागि नवीन ज्ञानको स्रोत पहिल्याउने आधार बन्न सक्छन् । निबन्धमा कविताको प्रयोगले नयाँपनको आभास दिन्छ ।
कहिले गर्छौ हो भलाद्मी हो आफ्नो खुसैले
भित्री जरा हालिसक्यो लोभी घुसैले
अन्त्यकालमा त्यो घुसले फटाउला धाँजा
बढो कष्ट मिलिजाला त्यो घुस निस्की जाँदा
सारथि उत्रनेछन्, सत्य जाग्नेछ
राजा, मन्त्री भारदारलाई ठक्कर लाग्नेछ ।
(पृ.१४८)
योगमाया र जलसमाधि निबन्धको सुरुवात यसरी गरिएको छ । इतिहासमा प्रसिद्ध एउटा घटना, जुन घटनालाई आधार बनाएर धेरैले कविता लेखे, कथा उपन्यास पनि लेखे । त्यही विषयलाई नयाँ शैलीमा कलात्मक तवरले आफ्नो विचारलाई पनि अन्तरघुलित बनाएर लेखेको शैली साँच्चै प्रशंसनीय छ । एउटा क्रान्तिको आरम्भ भएको घटनाको सन्दर्भपरक व्याख्या गर्दै उनले योगमायाको साहसलाई सलाम भनेका छन् ।
त्यस्तै गिरीले 'माछामार' शीर्षकमा संवादको भरपूर प्रयोग गरेका छन् ।
तेरो ग्राम कहाँ छ ?
यस उपत्यकाको साँगा भन्ज्याङपारि
र गोत्र ?
गोत्र पनि त्यहीँ छ ।
कहिले आएका हौ ?
यही गएको पूर्णिमामा
कहाँबाट ?
यमुना नदीको तटबाट
यमुना नदीको तट के तेरो पुर हो ?
हाम्रो पुर थियो ।
तिमीहरूको पुरको नाम के थियो ?
मत्स्यपर
तँ के असुर कुलकी होस् ?
होइन, आर्य कुमारी हुँ र तँचाहिँ ?
म दस्यु कुलको महिषपाल कुमार हुँ ।
(पृ. २१-२२)
प्राग्ऐतिहासिक विषयलाई निबन्धमा उठान गरेर संवादात्मक शैलीमा प्रस्तुत गर्दा त्यसले पाठकलाई त आकर्षित गर्छ नै, साथसाथै लेखनलाई सबल पनि बनाउँछ । तर, त्यसका लागि लेखकसँग विषयको गहिरो ज्ञान र प्रस्तुतीकरणको क्षमतामा निखारता आउनु जरुरी देखिन्छ । यसमा लेखक सफल पनि देखिएका छन् ।
यति हुँदाहुँदै पनि यस किताबमा केही सीमितताको प्रतीत हुन्छ । ऐतिहासिक विषयभन्दा बाहिर रुचि भएकाहरूका लागि यो पुस्तक प्रभावकारी हुनेछैन । विषयवस्तुको उठान गरेर अन्त्यका लागि लेखक धेरै नै हतारिएको आभासले दाँतमा ढुङ्गो लाग्ने ठाउँ देखिएको छ । कतिपय ठाउँमा वर्णनात्मक शैलीले निबनधको ओजलाई कमजोर पनि बनाएको छ । यस्ता केही कमजोरीका बाबजुद निबन्धकृति 'जीवाश्म' हरेकले एकचोटि पढ्नै पर्ने बनेको छ ।
जीवाश्मका लागि लेखक शीतल गिरीलाई हार्दिक बधाई ।
(गिरीको पुस्तक 'जीवाश्म' आगामी कात्तिक ९ गते विमोचन हुँदै छ।)