योगीहरू कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

योगीहरू  कूटस्थ लक्ष्य राखेर चुपचाप आत्मामा ध्यान केन्द्रित गरेर लाभ लिन्छन्

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  कात्तिक ०२, २०७६

    सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।
    आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपते ।। २७ ।।

अन्वय र अर्थ – अपरे = अरू योगीहरू, च = पनि, सर्वाणि = सम्पूर्ण, इन्द्रियकर्माणि = इन्द्रियहरूका कर्महरू, प्राणकर्माणि (च) = प्राणकर्महरू पनि, ज्ञानदीपिते = विवेक विज्ञानले प्रकाशित (उज्ज्वलित), आत्मसंयमयोगाग्नौ = आत्म संयमरूप योगाग्निमा, जुह्वति = आहुति दिन्छन् ।

भावार्थ – अन्य योगीगण सम्पूर्ण इन्द्रिय कर्महरू तथा प्राणकर्महरूलाई विवेक विज्ञानले उज्ज्वलित आत्म संयम रूप अग्निमा आहुति दिन्छन् ।

विशिष्टार्थ – म नै 'म' वा ब्रह्म हुँ भन्ने दृढ धारणा नै ज्ञान हो । एक मात्र कर्मयोगद्वारा नै यो ज्ञानकाे लाभ हुन्छ । कुनै कुनै योगीहरू यस ज्ञानमा द्दढ बद्ध भएर कूटस्थ लक्ष्य गरेर चूपचाप वसिरहेर (प्राण क्रियामा लक्ष्य नदिएर) आत्माको ध्यान गर्दा गर्दा आत्मरूपमा निष्ठा लाभ गर्दछन् अर्थात् मनलाई तन्मय बनाएर स्थिर हुन्छन् । यसैको नाम ज्ञान दीपित आत्मसंयम हो । ध्यानयोगमा यसरी आत्म संयम हुनाले दर्शन–श्रवण आदि इन्द्रियकर्म र श्वास–प्रश्वास–उन्मेष–निमेषादि प्राण कर्म सबै स्वतः स्थिर हुन्छन् । अत्यन्त सुख सम्वाद अथवा अत्यन्त शोक सम्वादद्वारा मनुष्य जसरी मोहमा प्राप्त हुन्छ त्यस्तै योगद्वारा जुन योगीहरूले चित्तलाई वशमा राखेका छन् ती सबै योगी आत्म ध्यान गर्नाले मात्र ब्रम्हानन्द वेगले अभिमूत भएर तत्क्षणात् भावावस्थामा उपनीत हुन्छन् । कर्मयोगद्वारा पनि यो अवस्था हुन्छ, एकासनमा वसेर १७२८ पटक चातुर्थिक प्राणायाम गर्नाले ध्यानावस्था हुन्छ र २०७३६ पटक प्राणायाम गर्नाले जुन अवस्था हुन्छ त्यसैलाई सममाधि वा आत्मसंयम भन्दछन् । यस समाधिद्वारा नै 'सोऽहं' भन्ने ज्ञान हुन्छ । संसाराभिमानी कल्पितात्मालाई एक पटक यस अवस्थाको भोग हुनाले नै अरू उसलाई मायाको डोरीले छुन सक्दैन । अतः आत्मसंयम रूप योगाग्निमा अज्ञानताको आहुति दिएर ज्ञानको महाप्रकाशको प्राप्तिको संकेत गरिएको छ ।

    द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञा स्तथापरे ।
    स्वाध्याय ज्ञानयज्ञाश्च यतयः संशितव्रताः ।। २८ ।।

अन्वय र अर्थ – अपरे = कतिपय, संशितव्रताः = जसका ब्रत नियमहरू सूक्ष्म–शुद्ध गरिएका छन् त्यस्ता, यतयः = यत्नशील पुरुषहरू, द्रव्ययज्ञाः = द्रव्यमय यज्ञ गर्ने, तपोयज्ञाः = तपरूप यज्ञ गर्ने, योगयज्ञाः = प्राणयाम प्रत्याहाररूप योग यज्ञ गर्ने, तथा = त्यस्तै, स्वाध्यायज्ञानयज्ञाः = वेदादि अध्ययनरूप यज्ञ गर्ने, च = पनि, (भवन्ति = हुन्छन्) ।

प्राणायामद्वारा जब प्राण र अपानको गरिरोध हुन्छ त्यस अवस्थामा अरू निश्वास प्रश्वासको क्रिया हुँदैन, त्यसकारण आहार अर्थात् वायु भोजन 'नियमित' अर्थात् संयत वा रुद्ध हुन्छ । यस अवस्थामा साधकहरू कूटरूपा प्रकृतिको गर्भमा रहेर पनि तिनीहरू मध्ये कुनैले पनि कसैसंग संस्पर्शदोष लिंदैनन् । ती सबैको समस्त व्यापार नै स्थिरवायुद्वारा स्थिर वायुमा संपादित हुन्छ, अतः 'प्राणान् प्राणेषु जुह्वति' भनिएको हो । यो अवस्था भाषामा व्यक्त हुँदैन । ईशाराले भुक्त भोगीले संझनेछन् ।

भावार्थ – कतिपय दृढब्रती यतिगणहरू द्रव्ययज्ञ, तपोयज्ञ, योगयज्ञ र स्वाध्याय ज्ञान यज्ञको अनुष्ठान गर्दछन् ।

विशिष्टार्थ – जुन साधकहरू गुरूपदिष्ट क्रियाकलापलाई यत्नपूर्वक साधन गर्दछन् तिनीहरूलाई नै यति भनिन्छ । जुन यतिहरूको देश काल पात्रद्वारा अथवा अरू कुनै कारणबाट नित्य नैमित्तिक उपासना प्रायश्चित आदि कर्मानुष्ठानमा विध्न वाधा उत्पन्न हुँदैन तथा जुन यतिहरु यथासमयमा यथाकर्म नियमित रूपले नगरिकन अरू कार्यहरू गर्दैनन् तिनीहरू नै संशितव्रत यति हुन् । तिनीहरू क्रियाकालमा यथाक्रम अनुसार द्रव्ययज्ञ, तपोयज्ञ योगयज्ञ र स्वाध्यायज्ञान यज्ञको अनुष्ठान गर्दछन् ।

पुण्यस्थानमा द्रव्यविनियोग गर्नुको नाम द्रव्ययज्ञ हो । पृथ्वी, अप, तेज, वायु, आकाश, दिक्, काल, मन यी नौ प्रकारका द्रव्य छन् । भूलाधारादि छः स्थान नै पुण्य स्थान हुन् । प्रथमतः जसद्वारा कूटस्थलाई लक्ष्य गरेर कालको वशमा रहेर वायुलाई आकर्षण गर्दै मनमनै मन्त्र संयोग पूर्वक प्रतिचक्रमा नियोग गरिन्छ अनि सर्व द्रव्यको सारभूत सहस्रारक्षरित अमृतलाई बैश्चानरमा अर्पण गरिन्छ त्यसैको नाम द्रव्ययज्ञ हो । द्रव्ययज्ञ सम्पन्न भएपछि साधकहरू भूत प्रपञ्च भन्दा माथि तपोलोक आज्ञाचक्रमा पुगेर मायिक आकर्षणलाई दमन गरेर चित्तको चंचलता नष्ट गर्दछन् । यसैको नाम तपोयज्ञ हो । अनि तपोयज्ञवाट चित्तको निक्षेपभाव नष्ट भएपछि साधक स्थिर, धीर र शान्तभावले एकमात्र स्वस्वरूपलाई लक्ष्य गर्दछ, तब केवल दृश्य र द्रष्टाको द्वन्द हुन्छ, अरू सबै पछि रहन्छन्, यसैको नाम योगयज्ञ हो । यस अवस्थामा जब प्रथम प्रथम वेदादि प्रणव, त्यसपछि वेदमाता गायत्री, परिशेषमा ऋगादि वेद  अशरीरी वाणीद्वारा स्वतः उच्चारित भइरहन्छन् त्यसलाई स्वाध्याय यज्ञ भन्दछन् । स्वाध्याय– स्व=स्वरूप, आ=प्रकृति+अध्याय अर्थात् त्वंरूपी साधक तथा तत्रूपी ईश्वरको आमने सामनकोे देखादेखी अवस्थाद्वारा नै यसको उत्थान हुन्छ । त्यस स्वाध्यायको अन्तः स्थित तेलको धारो जस्तै निरन्तर प्रणव निनाद सुन्दै सुन्दै तन्मय भएर मायिक आत्मद्वारा वनेर असंप्रज्ञात अवस्था आउनाले स्वाध्याय यज्ञको शेष हुन्छ । यस शेषको पनि शेषमा समाहित अवस्था भंग भए पश्चात् निरीक्षण गर्दा आब्रह्स्तम्बपर्यन्त त्रिकालका जे जति जान्ने विषयहरू छन् ती सबै जानिन्छ, सर्वत्र ब्रम्हदृष्टि स्थापित हुन्छ । यसैलाई ज्ञानयज्ञ भन्दछन् ।

    अपानेजुह्वति प्राणं प्राणे पानं तथापरे ।
    प्राणापानगतिरुद्ध्वा प्राणायाम परायणाः।
    अपरे नियताहाराः प्राणान् प्राणेषु जुह्वति ।। २९ ।।

अन्वय र अर्थ – अपरे = कुनै कुनै, अपाने = अपानस्थानमा, प्राणं = प्राणलाई, तथा = त्यस्तै, प्राणे = प्राणस्थानमा, अपानं = अपानलाइर्, जुह्वति = हवन (रेचक) गर्दछन्, (यसै गरी), प्राणापानगती = प्राण र अपानको गतिलाई, रुद्ध्वा = रोकेर, प्राणायामपरायणाः = प्राणायाम परायण हुन्छन् अर्थात् प्राणायाममा तत्पर भएका तिनीहरू केवल कुम्भक नामक प्राणायाम गर्दछन् । अपरे = कुनै कुनै, नियताहाराः = नियमित आहार गर्दा छँदा, प्राणान् = वायुभेदलाई, प्राणेषु = प्राणमा नै, जुह्वति = हवन गर्दछन् ।

भावार्थ – कुनै कुनै योगीहरू अपानमा प्राण र प्राणमा अपान प्रक्षेपद्वारा प्राणापानको गतिलाई रोकेर प्राणायाम गर्दछन् । कुनै कुनै नियताहार बनेर प्राणमा नै प्राणको हवन गर्दछन् ।

विशिष्टार्थ – मूलाधारमा अपान र आज्ञामा प्राण अवस्थित छन् । अपान अधोवृत्ति वायु हो भने प्राण ऊध्र्ववृत्ति वायु हो । अपान चंचल, प्राण स्थिर छ । यी दुवै वायु मेरुका दुवै प्रान्तमा रहेर विपरीत आकर्षणमा  परस्पर तानातान गर्ने चेष्टा गरिरहेका हुन्छन् । परन्तु कुनैले पनि अर्कोलाई आफूमा मिलाउन सक्दैन, त्यसकारण ती दुवैमा कहिले एकको कहिले अर्कोको जय पराजयले निश्वास प्रश्वासको क्रिया चलिरहन्छ । जुनवेला अपानको आकर्षणद्वारा प्राण पराजित हुन्छ त्यसवेला जीवको देहत्याग हुन्छ । जुन कुशलताले त्यस ऊध्र्ववायुलाई तलतिर र अधोवायुलाई माथि तिर राखेर दुवैको गतिरोध गरिन्छ त्यसैलाई प्राणायाम 'ऊध्र्वशक्ति निपातेन अधोशक्ते र्निकुञ्चनात् । मध्यशक्तिप्रबोधेन जायते परमं पदम् ।।' भन्दछन् । त्यस प्रकारको प्राणायाम जसको आयत्त भएकोछ तिनीहरूनै प्राणायामपरायण हुन् । प्राणायामद्वारा जब प्राण र अपानको गरिरोध हुन्छ त्यस अवस्थामा अरू निश्वास प्रश्वासको क्रिया हुँदैन, त्यसकारण आहार अर्थात् वायु भोजन 'नियमित' अर्थात् संयत वा रुद्ध हुन्छ । यस अवस्थामा साधकहरू कूटरूपा प्रकृतिको गर्भमा रहेर पनि तिनीहरू मध्ये कुनैले पनि कसैसंग संस्पर्शदोष लिंदैनन् । ती सबैको समस्त व्यापार नै स्थिरवायुद्वारा स्थिर वायुमा संपादित हुन्छ, अतः 'प्राणान् प्राणेषु जुह्वति' भनिएको हो । यो अवस्था भाषामा व्यक्त हुँदैन । ईशाराले भुक्त भोगीले संझनेछन् ।

    सर्वेऽप्येते यज्ञविदो यज्ञक्षयित कल्मषाः ।
    यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।। ३० ।।

अन्वय र अर्थ – एते = यी, यज्ञविदः = यज्ञलाई जान्ने, सर्वे = सबै, अपि = पनि, यज्ञक्षयितकल्मषाः = यज्ञानुष्ठानद्वारा निष्पाप बनेका, यज्ञशिष्टामृतभुजः = यज्ञ शेषरूप अमृत भोग गर्ने, (भूत्वा = भएर), सनातनं = अनन्त, ब्रह्म = ब्रह्मत्वमा, यान्ति = प्राप्त हुन्छन् ।

भावार्थ – यी सबै यज्ञविद्हरू यज्ञानुष्ठानद्वारा निष्पाप तथा यज्ञ शेषरूप अमृत भोग गर्ने भएर अनन्त ब्रम्हत्वमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ – यज्ञ क्रियाका जति प्रकारका प्रणालीहरू मानिएका छन् ती सबैको चरम गति एउटै हो । ती सबैका भित्र प्रभेद केवल विभूति प्राप्ति वा शक्तिलाभ विषयमा छ । यज्ञको यथाविधि अनुष्ठान गर्नाले चित्तको कल्मष वा चंचलता रूप मैलो सबै हटेर जान्छ, चित्त विशुद्ध हुन्छ र त्यसमा विषयको छाप पर्दैन । त्यसपछि यज्ञपूर्ण भएर समाधिमा परिसमाप्ति भएपछि ज्ञानरूप जुन अमृतको उदय हुन्छ त्यसले हृदयलाई परिपूर्ण गरिदिनाले अरू मृत्यु हुँदैन । सबै अहं मय हुनाले अनन्त ब्रह्मत्वको प्राप्ति हुन्छ । साधकहरू नित्य क्रियायोग गरेर समाधिद्वारा जुन ब्रह्मभोग गर्दछन् अथवा एकासनमा बसेर २०७३६ पटक चालुर्थिक प्राणायाम गर्नाले जुन कुम्भक हुन्छ त्यसैमा पनि ब्रह्मत्व लाभ हुन्छ, परन्तु त्यो सनातन हैन, त्यसको भंग हो र क्रमान्वयद्वारा त्यस्तो  भंगसमाधिको अभ्यासले सिद्ध भएपछि जीवन मुक्तावस्था प्राप्त हुनाले सनातन ब्रम्हत्व लाभ हुन्छ । फेरि प्राण प्रयाण कालमा शुक्लागति (देवयान) प्राप्ति हुनाले पनि  सनातन ब्रम्हत्व लाभ हुन्छ ।

    नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तमा ।। ३१ ।।
 

क्रमशः

याे पनि

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्

कर्म के हो ? अकर्म के हो ?

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !