असिम भूसाल | दृष्टिकोण | कात्तिक ०३, २०७६
सन् २०२० मा नेपालले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको आयोजना गर्दै छ । यस कार्यक्रमको मुख्य उद्देश्य सन् २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने हो । नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विवधताले भरिएको देश हो भनेर हामी सबैलाई थाहा भएको कुरा हो । हामी आफैँले सुनेका, तस्बीरमा हेरेका तर पाइला नटेकेका धेरै सुन्दर ठाउँहरू नेपालमा छन् । बाह्य पर्यटनका साथै अन्तरिक पर्यटनमा पनि धेरै सम्भाव्यता छन् नेपालमा ।
चीन र भारतको नक्सा हेर्दा हाम्रो देश एउटा सानो धर्को जस्तो छ तर प्राकृतिक विवधता निकै आश्चर्य लाग्ने खालका छन् यहाँ । नेपालको उत्तरी सिमानादेखि दक्षिणको सिमानासम्मको सरदर लम्बाइ १९३ किलोमिटर छ । यो १९३ किलोमिटरभित्र एउटा छेउमा आँप फल्छ, अर्को छेउमा स्याउ फल्छ र बीचमा सुन्तला फल्छ । एउटा कुनामा हपहपी गर्मी हुन्छ, अर्को कुनामा १२ मासे हिउँ परिरहन्छ ।
हिमालको काखमा बसेको सानो चिटिक्क परेको देश, पुर्खाको पौरखले जोगाएको देश, ज्ञान र अध्यात्मका प्रतीक भगवान् बुद्ध जन्माएको देश, अरनिको जस्ता महान् कलाकार जन्माएको देश, मन्दिरै मन्दिरले भरिएको देश, १०० भन्दा बढी जातजाति र तिनका संस्कृति भएको देश र पशुपतिनाथले बास गरेको देश नेपाल हो ।
तर, आज यही देशमा २० लाख पर्यटक भित्र्याउन सरकारले कार्यक्रम आयोजना गरेको छ । ७ अर्ब विश्वको जनसंख्यामा ३ अर्ब त हाम्रा २ छिमेकीसँग छन् । २० लाख पर्यटक त नेपालमा हरेक दिन हुनुपर्ने हो । कति जान्छन् र कति आउँछन्, त्यही पनि नेपालभरि प्रत्येक दिन पर्यटकको संख्या २० लाख हुनुपर्ने हो । नेपालमा पूर्वदेखि पश्चिमसम्ममा त्यति धेरै मानिसलाई घुम्न र विहार गर्न पुग्ने ठाउँ छन् । हामीसँग नभएको भनेको व्यवस्थापन हो । एउटा विशिष्ट व्यक्तिको सवारी हुँदा विमानस्थल २ घण्टा लागि बन्द हुन्छ । विमानस्थलमा आफ्नो सामान लिने बेलामा कतिका सामान हराउँछन् । विमानस्थलको अगाडिबाट सुरु हुने गाडीको जाम नौबिसेसम्म, उस्तै परे धार्केसम्म हुन्छ । धुलो, मैलोको त के गफ गर्नु !
हालसालै चिनियाँ राष्ट्रपति सी जिनिपङको नेपालमा २ दिनको भ्रमण भयो । काठमाडौं धमाधम सिँगारिन थाल्यो । असोजमा असारे विकास देखियो । बाटोहरू बढारिए, पखालिए, रङ रोगन भयो । सडक, गल्लीहरू पिच गरिए, वर्षौंदेखि नमिलेका र नमिलाइएका बिजुलीका खम्बाका तारहरूको गन्जागोल पनि मिलाइयो । बाटोका फोहोरहरू उठाइए । अरू बेला डुङ्डुङ्ती गह्नाउने काठमाडौंले २ दिनका लागि सस्तो र कमसल अत्तर लगायो ।
त्यसैबेला सरकारका प्रवक्ताको अन्तर्वार्ता पढ्ने मौका मिल्यो । पाहुना आउँदा घर सफा गर्ने हाम्रो पुरानो संस्कार नै हो भन्नुभएको थियो उहाँले । योजति निरीह र गैरजिम्मेवारीपूर्ण कुरा त्यो ओहोदाको व्यक्तिले सुनाउँदा स्वयं प्रवक्ताले त लाज मान्नुभएन तर उहाँ बस्ने प्रवक्ताको कुर्सीले पक्कै लाज मान्यो होला । यो त यस्तो कुरा भयो, वर्षभरि नाङ्गै हिँड्ने र डुल्ने, पाहुना घरमा आउँदाचाहिँ पराल बेर्ने । वर्षभरि छोराछोरीलाई पोषणरहित खाने कुरा खुवाएर कुपोषित बनाउने, घरमा पाहुना आउँदा एक दिनका लागि ८४ व्यंजन पकाउने ।
नेपाली जनतालाई राहत हुने काम सरकारले गरे विदेशीलाई यसै राहत हुन्थ्यो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ नेपालमा । पर्यटकहरू पूर्वतिर गए पनि या पश्चिमतिर गए पनि जाने काठमाडौंबाट हो । उपत्यकाबाट बाहिर निस्किने मार्ग राम्रो बने त कहिलेकाहीँ नेपाल आउने पर्यटकले मात्र होइन, उपचार गर्न राजधानी आउनुपर्ने बाध्यता भएका नेपालीहरूले पनि सुख पाउँथे ।
फेसबुकमा धेरै देखियो र सुनियो कि चिनियाँ राष्ट्रपति नेपाल आउँदा सारा विश्वले नेपाललाई हेरेको हुन्छ । त्यही भएर काठमाडौं चिटिक्क पार्नुपर्छ, भ्रमण वर्षको निस्शुल्क प्रचार प्रसार हुन्छ । यो भनेको त एउटा राष्ट्रले गर्न खोजेको संस्थागत ठगी हो । सारा विश्वका मान्छेलाई ठग्न खोज्नु हो । राष्ट्रपति सीको भ्रमणको बेलाको चिटिक्कको काठमाडौं देखाएर फकाएर निम्त्याएको विदेशीले त्यस्तो काठमाडौं नपाएपछि सरकारलाई धोकाधडी र जालसाजीको मुद्दा हाल्न पाउने कि नपाउने ? र, राष्ट्रपति सीलाई यो सरसफाई सबै नाटक हो भन्ने थाहा हुँदैन होला र ? चिनियाँ राजदूतावास पनि काठमाडौंमा छ । त्यहाँका राजदूत र कर्मचारीले अरूबेलाको काठमाडौं त देखेकै छन् ।
सधैँ सफा गरे त जनताको स्वास्थ्य पनि राम्रो हुन्थ्यो । कुरा रेल, पानी जहाज र आणविक भट्टीसम्मको कुरो गर्ने तर काठमाडौं सफा हुनलाई कि चिनियाँ राष्ट्रपति कि भारतीय प्रधानमन्त्री नै आउनुपर्ने ?
पर्यटक नेपालमा फराकिला बाटा, सिसाले बनेका गगनचुम्बी भवनहरू हेर्न आउँदैनन् । यहाँका मठ मन्दिर, संस्कृति र प्राकृतिक सुन्दरता हेर्न आउने हो । तर, हामीले त्यही कुराको विनास गर्दै छौँ । भूकम्पपछि हाम्रा मठ मन्दिरको पुनर्निर्माणको अवस्था हेरौँ । रानी पोखरी हेरौँ, वसन्तपुर दरबार हेरौँ । कतै सिमेन्टले पुनर्निर्माण हुँदै छ, कतै मन्दिरको जगमा बियरका बोतल हालिन्छ । हाम्रा प्राचीन धरोहरको अस्तित्व र मौलिकता र हाम्रो प्राचीन वास्तुकलाको निर्मम हत्या हुँदै छ र हामी सबै विवश भएर मुकदर्शक बनेका छौँ ।
अस्ति दशैँको बेलामा नौबिसेको जाममा बडो दुस्खलाग्दो घटना भयो । उपचार गर्न काठमाडौँ आउँदै गरेका बिरामीको जाममै मृत्यु भयो । चाडवाडको बेलामा नौबिसे सडकखण्ड कति व्यस्त हुन्छ, हामी सबैलाई थाहा छ । तर, सरकार त्यहीबेला बाटो बनाउने काम गरेर उल्टो जनतालाई दुस्ख दिन्छ । एउटा नेपाली मरेर धेरै हल्लाखल्ला भएन । हाम्रो वास्तविकता यो हो तर हामी वास्तविकता बदल्न खोज्दैनौँ केवल लुकाउन खोज्छौँ । त्यस ठाउँमा एउटा अमेरिकी परेको भए सारा विश्वले थाहा पाउँथ्यो अनि भ्रमण वर्ष २०२० का लागि गरिएको कार्यक्रम र खर्च व्यर्थ हुने थियो ।
नेपाली जनतालाई राहत हुने काम सरकारले गरे विदेशीलाई यसै राहत हुन्थ्यो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ नेपालमा । पर्यटकहरू पूर्वतिर गए पनि या पश्चिमतिर गए पनि जाने काठमाडौंबाट हो । उपत्यकाबाट बाहिर निस्किने मार्ग राम्रो बने त कहिलेकाहीँ नेपाल आउने पर्यटकले मात्र होइन, उपचार गर्न राजधानी आउनुपर्ने बाध्यता भएका नेपालीहरूले पनि सुख पाउँथे ।
केही पहिला पर्यटनमन्त्रीले विदेशमा रहेका नेपालीलाई आआफ्ना सामाजिक संजालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न अपिल गर्नुभएको थियो ताकि धेरैभन्दा धेरै पर्यटक नेपाल आऊन् । म त्यसको भद्र अवज्ञा गर्छु, केही पनि लेख्दिनँ । नेपाल जाऊ पनि भन्दिनँ, नजाऊ पनि भन्दिनँ । एकचोटि नेपाल आएर निराश भएर आफ्नो देशमा फर्किएर एक जना विदेशी पर्यटकले आफ्ना साथीहरूलाई नेपालको बारेमा नकारात्मक कुरा भनेमा भविष्यका १० पर्यटकलाई नेपाल आउन हतोत्साही बनाउन सक्छ । शान्त, सभ्य र सुलभ देश बने नेपालमा धेरै पर्यटक भित्रिन्छन् किनभने नेपाल सुन्दर त आफैँ छ ।