राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौं पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो ।
जीतसँगै काठमाडौंले चार खेलमा छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै, लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरले दिएको १०६ रनको लक्ष्यलाई पछ्याएको काठमाडौंले १७.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । काठमाडौंको जीतमा कप्तान रुविना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिएकी हुन् ।
त्यस्तै, रोमा थापाले १८, रश्मि चौलागाईंले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन् । बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक-एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो । उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईंले १३ रन बनाइन् ।
काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिँदा सरस्वती चौधरीले १ विकेट झारिन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले सात लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।