प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्त्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका– १ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो ।
प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सो सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।
प्रवेश मार्गसहित ५.५६ किलोमिटर सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताउनुभयो । करिब ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो ।
सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।