चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ ।
मेट्रोको भाडा वृद्धिको विरोधबाट सुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ । प्रहरीले हालसम्म लुटपाट र अरू गम्भीर अपराधको आरोपमा ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । माध्यमिक तहमा पढ्ने विद्यार्थीहरूले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन सुरु गरेका थिए । तर, यो प्रदर्शनले पछिल्ला दिनमा उग्र रूप लिएको छ र प्रदर्शन देशव्यापी हुन थालेको छ ।
राजधानी सान्टीयागोमा कम्तीमा पाँचवटा भूमिगत स्टेसन र बसहरूमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन् । धेरैवटा समूहले सोमवारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन् ।
राष्ट्रपति पिनेराले शनिवार सवारी साधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरु रोकिएका छैनन् । सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो ।