नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।
यसअघि ११० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस चार हजार २०० रुपैयाँ रहेकामा अब दुईदेखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस दुई हजार ५०० रुपैयाँ मात्र कायम गरिएको कम्पनीले सोमवार एक विज्ञप्तिमार्फत् जनाएको छ ।
त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस चार हजार रुपैयाँमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस दुई हजार ३०० रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र दुई हजार १०० रुपैयाँ मा उपलब्ध गराइनेछ ।
पहिले १०० एमबीपीएसमाथिका लागि प्रति एमबीपीएस तीन हजार ८०० रुपैयाँ महसुल दर तोकिएकामा अब यो प्रति एमबीपीएस एक हजार ९०० रुपैयाँमै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ ।
टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहन्छ भने सो सेवा २४सै घण्टा निरन्तर डेडिकेटेड रूपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई-कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।
मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी व्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघसंस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।
मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।