धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम सोमवार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ ।
कारोबार रकम आइतवारको तुलनामा बढे पनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतबार कुल ११ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । आज कुल १४५ कम्पनीको ६ लाख ८ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५३६ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर उकालो लागेको छ भने ५ उपसमूहको शेयर घटेर बन्द भएको छ ।
बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै, होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको एक करोड ८९ लाख ३७ हजार ३६७ रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै, नेपाल बैंक लिमिटेड ७६ लाख १८ हजार ७७१, मेगा बैंक ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६० लाख १७ हजार ३९७ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै, एभरेष्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए ।