वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका– ४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिव तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् ।
छ महिनाअघि कतारको राजधानी दोहास्थित ट्रिपल एक्स कन्ट्र्याक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्याइएका आफूहरूलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताउनुभयो । 'चार महिनासम्म लेवरको काम लगायो', उहाँले भन्नुभयो, 'कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाई कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।' काठमाडौंको धुम्बाराहीस्थित टाइगर ओभरसिज मेनपावर कम्पनीमा प्रति व्यक्ति ८० हजार रुपैयाँ बुझाएर उनीहरू कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताउनुभयो ।
'इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबै जनाको धरौटीवापतको रकम बुझाएको थिएँ', उहाँले भन्नुभयो, 'कतार पुर्याएपछि चार महिना लेवरको काम दियो र मासिक एक हजार १०० रियाल तलब दिने सम्झौता भए पनि उनीहरूले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।'
चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित श्रम अदालतमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र सुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरूले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरूलाई कतार पठाउने धुम्बाराहीस्थित टाइगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताउनुभयो ।
'२०७५ फागुन १४ मा प्रवेशाज्ञा आएको देखाउँदै धरौटी रकम बुझेर चार महिनापछि जेठ २३ गते उडायो', उहाँले भन्नुभयो, 'अहिले उनीहरू बसुन्धारामा राप्ती मेनपावर कम्पनी खोलेर बसेका छन् ।' उता, मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरूले विना कारण काम छाडेर बसेको बताउनुभयो । 'उनीहरूले कम्पनीसँग लेवरमै सम्झौता गरेर कतार गएका हुन्', उहाँले भन्नुभयो, 'अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।'
टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि सो मेनपावर कम्पनीले उनीहरूलाई प्रति व्यक्ति ८० हजार रुपैयाँ रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।