अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न २३ वर्षमुनि (यु–२३ )को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएको छ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
कतारस्थित दोहा रङ्गशालामा उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली मंगलवार बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ । उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कार्यवाहक अध्यक्ष पङ्कज नेम्वाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पण कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल पनि टोलीमा छन् ।