वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल)को फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई उपाधिका लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो ।
उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । त्यस्तै, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक/एक विकेट लिइन् । काठमाडौं अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले सात लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।