बंगलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरूलाई एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो । नुसरतले एक शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि उनको जलाएर हत्या गरिएको बताइएको छ ।
‘यस फैसलाले बंगलादेशमा हत्याबाट कोही पनि उम्कन सक्दैन भन्ने प्रमाणित गर्छ', न्यायाधीश हाफिज अहमदले भन्नुभएको छ, ‘हाम्रो देशमा कानुनको शासन छ ।’ सो हत्यामा प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बंगलादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृखलाबद्ध रूपमा प्रदर्शन भइरहेका थिए ।
यस्ता खालका मुद्दाको टुङ्गो लाग्न वर्षौं लाग्ने गरेको बंगलादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ । न्यायाधीश अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बंगलादेशमा हत्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताउनुभएको छ । नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।
त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । उजुरी फिर्ता लिन अस्वीकार गरेपछि उनलाई जीवितै जलाइएको थियो । उनले आत्महत्या गरेको जस्तो देखाउन खोजिएको भए पनि पछि हत्या प्रमाणित भएको छ ।
प्रहरीले उनको उद्धार गरेको र उनले घटनाको विषयमा दिएको बयान उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए । बयानको क्रममा नै नुसरतले केही आक्रमणकारीको नाम बताएकी थिइन् । शिक्षकले आफूलाई छोएको र सो अपराधविरुद्ध सास रहुञ्जेलसम्म लडिरहने बताएकी थिइन् । शरीरका ८० प्रतिशत भाग जलेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो ।