इद्रिस सायल | दृष्टिकोण | कात्तिक ०७, २०७६
नेपालको उर्दू लोकसाहित्यमा लोककथाचाहिँ लोकसाहित्यको एउटा महत्त्वपूर्ण विधा मानिन्छ । लोककथालाई नेपालको उर्दू भाषामा किस्सा भनिन्छ । किस्सा, कहानी र अफसाना सबै पर्यायवाची शब्द भए पनि किस्सा लोककथाका लागि तथा अफसाना र कहानी आधुनिक कथाका लागि प्रयोग भएको पाइन्छ । यद्यपि, ग्रामीण क्षेत्रहरूमा लोककथालाई मसला र कहानी पनि भनिएको पाइन्छ । नेपालमा प्रचलित उर्दू लोककथाहरूलाई विभिन्न आधारमा वर्गीकरण पनि गर्न सकिन्छ ।
२.२ सन्देशका आधारमा
क) धार्मिक र सांस्कृतिक सन्देशका आधारमा ।
ख) नैतिक सन्देशका आधारमा ।
ग) सामाजिक सन्देशका आधारमा ।
२.३. परिवेशका आधारमा
क) नेपाली परिवेश भएका लोककथा ।
ख) भारतीय परिवेश भएका लोककथा ।
ग) अरबी परिवेश भएका लोककथा ।
२.४. चरित्रका आधारमा
क) प्रमुख चरित्रसित सम्बद्ध लोककथा ।
ख) सहायक चरित्रसित सम्बद्ध लोककथा ।
ग) गौण चरित्रसित सम्बद्ध लोककथा ।
२.५. वाचनका आधारमा
क) पुरुषले वाचन गर्ने लोककथा ।
ख) महिलाले वाचन गर्ने लोककथा ।
ग) महिला र पुरुष दुवैले वाचन गर्ने लोककथा ।
२.६. अवसरका आधारमा
क) बाह्रै मास भनिने र वाचन गरिने लोककथा ।
ख) संस्कारमा वाचन गरिने लोककथा ।
ग) चाडपर्वमा वाचन गरिने लोककथा ।
घ) अनुष्ठानमा वाचन गरिने लोककथा ।
ङ) शुभकार्यमा वाचन गरिने लोककथा ।
२.७. प्रयोजनका आधारमा
क) मनोरञ्जन प्राप्ति ।
ख) ज्ञान प्राप्ति ।
ग) पुण्य प्राप्ति ।
घ) समय व्यतीत गरिने ।
ङ) महान् व्यक्तित्वको कदर गरिने ।
२.८. प्रस्तुतिका आधारमा
क) भनिने लोककथा ।
ख) वाचन गरिने लोककथा ।
३. महिलाहरूले वाचन गर्ने लोककथा
नेपालको मुस्लिम समुदायमा उर्दू लोककथाहरूको प्रस्तुति प्रायः २ किसिमले १) भनेर र २) वाचन गरेर गर्ने गरेको पाइन्छ ।
नेपालको मुस्लिम समुदायमा प्रायः उर्दूका धार्मिक, अध्यात्मिक र शास्त्रीय कथाहरू मात्र वाचन गरेको पाइन्छ । अन्य कथाहरूचाहिँ भन्ने गरेको पाइन्छ । त्यसैले नेपालको मुस्लिम मसुदायमा भनिने लोककथाभन्दा वाचन गरिने लोककथाको बढी महत्त्व रहेको पाइन्छ । वाचन गरिने उर्दू लोककथाहरूलाई पनि पुरुषले वाचन गर्ने लोककथा, महिलाले वाचन गर्ने लोककथा तथा महिला र पुरुष दुवैले वाचन गर्ने लोककथा भनेर वर्गीकरण गरेको पाइन्छ । वाचन गरिने उर्दू लोककथाहरूमा महिलाहरूले वाचन गर्ने लोककथाहरूको महत्त्व बढी देखिन्छ । महिलाहरूले वाचन गर्ने उर्दू लोककथाहरूमा मुख्य रूपमा सैयदा बिबी की कहानी र दस बिबी की कहानीलाई लिने गरेको पाइन्छ । यी दुईवटै उर्दू लोककथाहरू विषयवस्तुका आधारमा धार्मिक कथाअन्तर्गत परे पनि यिनमा निम्नलिखित झलक पनि पाइन्छ :
१) धार्मिक
२) अध्यात्मिक
३) शास्त्रीय
नेपालको मुस्लिम समुदायमा महिलाहरूले वाचन गर्ने उर्दू लोककथाहरूको ठूलो महत्त्व रहेको पाइन्छ । महिलाहरूले वाचन गर्ने मुख्य उर्दू लोककथाको रूपमा सैयदा बिबी की कहानी र दस बिबी की कहानीलाई लिइएको पाइन्छ । यी लोककथाहरूको वाचनको आयोजना विशेष अवसरमा गरिएको पाइन्छ ।
क) मनोकामना पूरा हुँदा
नेपालको मुस्लिम समुदायमा महिलाहरूले वाचन गर्ने उर्दू लोककथाहरूको सैयदा बिबी की कहानी र दस बिबी की कहानीको आयोजना भाकल गरेको अवस्थामा मनोकामना पूरा भएपछि गरेको पाइन्छ ।
ख) संस्कार मनाउँदा
नेपालको मुस्लिम समुदायमा महिलाहरूले वाचन गर्ने यी उर्दू लोककथाहरूको वाचनको आयोजना केही संस्कारमा पनि गरेको पाइन्छ ।
छट्ठी
नेपालको मुस्लिम समुदायमा प्रचलित छट्ठी अर्थात् छैँटी संस्कारमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरिन्छ । यी लोककथाहरूको वाचनको आयोजना सोहर गीत गाउनुपूर्व साँझपख नै गरेको पाइन्छ ।
हकिका
नेपालका मुस्लिम समुदायमा प्रचलित हकिका अर्थात् मुण्डन संस्कारमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरिन्छ । यी लोककथाहरूको वाचनको आयोजना हकिका संस्कारको दोस्रो अर्थात् अन्तिम दिनको साँझपख गरेको पाइन्छ ।
मस्जिद वारी
नेपालको मुस्लिम समुदायमा प्रचलित मस्जिद वारी अर्थात् बच्चालाई मस्जिद प्रवेश गराउने संस्कारमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पायन्छ । यी लोककथाहरूको वाचनको आयोजना बच्चालाई मस्जिदबाट फर्काएर घर ल्याएपछि साँझपख गरेको पाइन्छ ।
खतना
नेपालको मुस्लिम समुदायमा प्रचलित खतना संस्कारमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । यी लोककथाहरूको वाचनको आयोजना खतना संस्कारको दोस्रो अर्थात् अन्तिम दिनमा साँझपख नै गरेको पाइन्छ ।
सादी
नेपालको मुस्लिम समुदायमा प्रचलित सादी अर्थात् विवाह संस्कारमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । यी लोककथाहरूको वाचनको आयोजना सोहर गीत गाउनुपूर्व साँझ नै गरेको पाइन्छ ।
ग) चाडपर्व मनाउँदा
नेपालको मुस्लिम समुदायमा महिलाहरूले वाचन गर्ने उर्दूका यी लोककथाहरूको वाचनको आयोजना केही चाडपर्वमा पनि गरेको पाइन्छ ।
मोहर्रम
नेपालको मुस्लिम समुदायमा प्रचलित मोहर्रम चाडमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरिन्छ । यो मोहर्रम चाड हिज्री सम्वत् (मुस्लिम सम्वत्)को पहिलो महिना मोहर्रमको ७ तारिखदेखि १० तारिखसम्म ओपचारिक रूपले मनाएरको पाइन्छ । तीमध्ये ७ देखि ९ तारिखका बिचमा यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । यो मोहर्रम चाड पैगम्बर मोहम्मदका नातिद्वय हसन र हुसेन तथा सपरिवारको स्मृतिमा मनाइन्छ, जो तानाशाह यजिदविरुद्ध लड्दालड्दै सपरिवार शहीद भएका थिए भन्ने आधार रहेको छ ।
बारा रविउल औवल
नेपालको मुस्लिम समुदायमा प्रचलित बारा रविउल औवल चाडमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । यो चाड पैगम्बर मोहम्मदको जन्मजयन्तीको रूपमा हिज्री सम्वत्को तेस्रो महिना रविउल औवलको १२ तारिखमा मनाएको पाइन्छ । यही दिनमा साँझपख यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ ।
ग्यारुहीँ
नेपालको मुस्लिम समुदायमा प्रचलित ग्यारुहीँ चाडमा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । यो चाड पिर गौसको जन्मजयन्तीको रूपमा हिज्री सम्वत्को चौथो महिना रविउला आखिरको ११ तारिखमा मनाएको पाइन्छ । यही दिनमा साँझ यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । पिर गौसमा मुर्दा जिउँदो पारिदिने क्षमता थियो भन्ने लोकविश्वास रहेको पाइन्छ ।
रमजान
नेपालको मुस्लिम समुदायमा इद मनाउनुपूर्व एक महिनासम्म रोजा अर्थात् व्रत बस्ने गरिन्छ । त्यस्तो एक महिनासम्मको रोजा हिज्री सम्वत्को नवौँ महिना समजान भरिबसेको पाइन्छ र यस महिनामा आवश्यकताअनुसार यस्ता लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ ।
घ) शुभकार्य गर्दा
नेपालको मुस्लिम समुदायमा विभिन्न शुभकार्य गर्दा पनि यी लोककथाहरूको वाचनको आयोजना गरेको पाइन्छ । त्यस्ता केही शुभकार्यहरूलाई यसरी पनि उल्लेख गर्न सकिन्छ :
नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने लोककथा सैयदा बिबी की कहानीमा विभिन्न सन्देश निहित रहेका पाइन्छ । ती सन्देशहरू प्रायः मुस्लिम संस्कृति, महिला अधिकार र प्रगतिशीलताकै सेरोफेरोमा केन्द्रित रहेका पाइन्छ ।
४. सैयदा बिबी की कहानी
सैयदा बिबी की कहानी नेपालको मुस्लिम समदायमा महिलाहरूले वाचन गर्ने एउटा मुख्य उर्दू लोककथा हो । यो लोककथा पैगम्बर मोहम्मदकी छोरी फात्माको नामबाट प्रचलनमा आएको पाइन्छ । पैगम्बर मोहम्मदकी छोरी फात्मालाई विविध नामले पुकारेको पाइन्छ । तीमध्ये सैयदा पनि एक हो । यही ‘सैयदा’ नामबाट यस लोककथाको नाम सैयदा बिबी की कहानी रहेको पाइन्छ ।
यसमा उर्दूका २ वटा शब्द छन् । तीमध्ये सैयदा नामवाची शब्द हो, बिबी की को अर्थ नारीको र कहानीको अर्थ कथा हो । समग्रमा यसको नेपाली अर्थ नारी सैयदाको कथा हुन्छ । यस लोककथामा मुख्य भूमिका बिबी सैयदाकै रहेकाले यसलाई उनकै कथाको रूपमा पनि लिने गरेको पाइन्छ ।
त्यसैगरी यस लोककथामा सहायक र गौण भूमिका भएका पात्रहरू पनि रहेको पाइन्छ । यस लोककथालाई बिबी सैयदालाई स्मरण गर्ने कथाको रूपमा लिइएको पाइन्छ । धर्म, समाज, देश जनताका लागि उनले पुर्याएको योगदानका कारण यो लोककथाको वाचनको आयोजना गर्ने गरेको पाइन्छ । उनका ती योगदानहरूका बारेमा पनि सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
क) धार्मिक योगदान
पैगम्बर मोहम्मदको समयमा चारैतिर अशान्तिमय अवस्था थियो । त्यस अशान्तिमय अवस्थालाई पराजित गरेर शान्ति स्थापनाका लागि पैगम्बर मोहम्मदले ठूलो सङ्घर्ष गर्नुपरेको थियो । उनले त्यस्तो सङ्घर्ष इस्लाम धर्मको पुनस्र्थापनामा पनि गर्नुपरेको थियो । किनकि त्यतिबेला शान्ति स्थापनामा इस्लाम धर्म पनि महत्त्वपूर्ण भूमिका थियो ।
इस्लाम धर्मको त्यो पुनस्र्थापनामा बिबी सैयदाले पनि ठूलो योगदान गरेको पाइन्छ । यो नै उनको धार्मिक योगदान थियो । यो योगदानका कारण पनि उनलाई सैयदा बिबी की कहानी नामक उर्दू लोककथामार्फत् स्मरण गर्ने गरेको पाइन्छ ।
ख) राजनीतिक योगदान
तल्कालीन करबला (इराक)का तानाशाह यजिद एकदमै क्रूर र निरंकुश भइदिँदा जनताहरूले आफूलाई शोषित पीडितको रूपमा महसुस गर्थे । त्यस्तो अवस्थामा तानाशाह यजिदको अन्त्यका लागि बिबी सैयदाका छोराद्वय हसन र हुसेनले आफ्नो परिवारका साथमा हजुरबा पैगम्बर मोहम्मदको निर्देशनमा जनआन्दोलन नै सुरु गर्नुपरेको थियो ।
उनीहरूको त्यही जनआन्दोलन नै जनयुद्धमा परिणत हुँदा सपरिवार नै शहीद हुनुपरेको थियो । त्यो जनआन्दोलन र जनयुद्धमा बिबी सैयदाको पनि महत्त्वपूर्ण योगदान थियो । यो नै उनको राजनीतिक योगदान थियो । तत्कालीन राजनीतिमा पुर्याइएको यस योगदानका कारण पनि सैयदा बिबी की कहानी नामक उर्दू लोककथाको वाचनको आयोजनामार्फत् उनलाई स्मरण गर्ने गरेको पाइन्छ ।
उनको राजनीतिक योगदानका कारण नै तत्कालीन समयमा महिलाहरू करबलाको त्यो जनअन्दोलन र जनयुद्धमा सरिक भएका पाइन्छ ।
ग) सामाजिक योगदान
पैगम्बर मोहम्मदले तत्कालीन अरबलगायत विश्वभर नै इस्लाम धर्मको पुनस्र्थापना र विस्तारमार्फत् समाजिक विकासको चाहना राखेका थिए । किनकि त्यतिबेला चारैतिर शोषक शासकहरूद्वारा सर्वसाधारणहरूमाथि व्यापक शोषण र अत्याचार भइरहेको थियो । पैगम्बर मोहम्मदले त्यतिबेला इस्लाम धर्मको पुनस्र्थापना र विस्तारलाई नै एउटा अभियानको रूपमा थालेर शोषक शासकहरूको अन्त्यको चाहना राखेका पाइन्छ ।
त्यो अभियानमा बिबी सैयदाको पनि महत्त्वपूर्ण भूमिका थियो । यो नै उनको समाजिक योगदान थियो । यो योगदानका कारण पनि उनलाई सैयदा बिबी की कहानी नामक उर्दू लोककथामार्फत् स्मरण गर्ने गरेको पाइन्छ । उनको यही समाजिक योगदानका कारण त्यतिबेला नै विधवा विवाहलाई वैधानिकता प्रदान गरिएको थियो ।
४.१ सैयदा बिबी की कहानीको विषयवस्तु
नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गर्ने एउटा महत्त्वपूर्ण उर्दू लोककथा सैयदा बिबी की कहानी हो । पैगम्बर मोहम्मकी छोरी फात्मा अर्थात् बिबी सैयदाको कथाको रूपमा परिचित यस उर्दू लोककथामा ४ वटा कथांश रहेका पाइन्छ ।
क) बिबी सैयदाको कथा
प्रस्तुत उर्दू लोककथाको बीचबीचमा बिबी सैयदाको कथा आएको पाइन्छ । यस लोककथामा बिबी सैयदाले अन्य पात्रहरूलाई संकट र समस्याबाट मुक्ति पाउन मार्गनिर्देश गरेको पाइन्छ ।
ख) सुनारको कथा
प्रस्तुत उर्दू लोककथाको सुरुमा एउटा सुनारको कथा रहेको छ । त्यो सुनारकी श्रीमती एक दिन पानी भर्न कुवामा गएकी थिई । त्यही कुवानिर एउटा कुमालेको भट्टी थियो । त्यही भट्टीमा सुनार्नीको छोरा खसेपछि उसले भाकल गरी– ‘मेरो छोरो कुमालेको भट्टीबाट सकुशल निस्क्यो भने तत्काल बिबी सैयदाको कथा सुन्छु ।’
सुनार्नीले भाकल गरेपछि उसको छोरा कुमालको भट्टीबाट सकुशल निस्कियो ।
ग) यहुदीको कथा
मदिना शहरमा बस्ने एउटा यहुदीकी छोरीको विवाह थियो । उसले बिबी सैयदालाई पनि विवाहमा आउनका लागि निम्तो दिएको थियो । निम्तो पाएपछि बिबी सैयदा पनि त्यो यहुदीकी छोरीको छोरीको विवाहमा सहभागी हुन पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनको नुर (दैवीशक्ति)का कारण दुलहीलगायत धेरैजसो यहुदी महिलाहरू बेहोस हुन पुगेका थिए ।
केही छिनपछि ती यहुदी महिलाहरूलाई होस आयो तर दुलहीलाई होस आएन । त्यस्तो अवस्था देखेपछि बिबी सैयदाले नमाज पढिन् र दुलहीलाई सकुशल पारिदिन अल्लाहसँग बिन्ती गरिन् । त्यसपछि केही छिनमै दुलहीलाई पनि होस आयो ।
घ) बादशाहको कथा
एउटा बादशाह (राजा) आफ्नो वजिर (मन्त्री) का साथ जङ्गलमा सिकार खेल्न गएको थियो । बादशाह र वजिरसँग उनीहरूकी छोरीहरू पनि गएका थिए । त्यतिबेला त्यहाँ ठूलो आँधी आयो र ती केटीहरूलाई उडाएर एउटा पहाडमाथि पुर्यायो । त्यहाँ सिकार खेल्न गएका अर्को देशका राजा र मन्त्रीले ती केटीहरूलाई भेट्टाए र उनीहरूकै दरबारमा पुर्याइदिए । साथै आफ्ना छोराहरूसँग ती केटीहरूको विवाह गरिदिन बिन्ती पनि गरे । त्यो बिन्ती स्वीकार गरिएपछि धूमधामसँग विवाह पनि सम्पन्न भयो । अनि ती केटीहरूको माइती दरबारचाहिँ आफसे आफ बेपत्ता भयो ।
त्यस्तो अवस्था देखेर केटा पक्षका राजा र मन्त्री रिसाएर ती केटीहरूलाई फाँसीको सजाय सुनाए । फाँसीको सजाय सुनेपछि ती केटीहरू खुब रोए, बेहोस भए र सपना देखे । सपनामा सैयदा बीबीले भनिन्– ‘तिमीहरूले आफ्नो माइती दरबारमा पुग्यौँ भने कहानी सुन्छौँ भनेर भाकल हराएर पहाडमा पुगेको बेला गरेका थियौ । त्यसपछि तिमीहरू आफ्ना माइती दरबारमा त आइपुग्यौ तर कहानी सुन्न बिर्सियौ । यो त्यसैको फल हो ।’
यस कुराको जानकारी ती केटीहरूले बादशाह र वजिरलाई गराए र कहानी पनि सुने । त्यसपछि उनीहरूको माइती दरबार सकुशल देखियो ।
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले तानाशाही प्रवृत्तिप्रति सदा असहमति जनाउनुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथामा क्रूर, निरंकुश एवम् तानाशाही प्रवृत्तिका बादशाह (राजा) तथा शासकहरूले आफ्नो स्वार्थका लागि जे पनि गर्ने हुँदा तिनलाई सामाजिक बहिष्कार गर्नुपर्ने सन्देश पनि दिएको पाइन्छ ।
४.२. सैयदा बिबी की कहानीको सन्देश
नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने लोककथा सैयदा बिबी की कहानीमा विभिन्न सन्देश निहित रहेका पाइन्छ । ती सन्देशहरू प्रायः मुस्लिम संस्कृति, महिला अधिकार र प्रगतिशीलताकै सेरोफेरोमा केन्द्रित रहेका पाइन्छ ।
क) धर्म र संस्कृतिको जगेर्ना
नेपालको मुस्लिम समुदायमा महिलाहरूद्वारा वाचन गरिने उर्दू लोककथा सैयदा बिबी की कहानीले दिने मुख्य सन्देशमध्ये एउटा सन्देश मस्लिम समुदायको धर्म र संस्कृतिको जगेर्ना गर्नु पनि हो किनकि यो लोककथा मुस्लिम भाषा, संस्कृति र इतिहाससँग नै सम्बद्ध रहेको छ ।
ख) महिलाअधिकारको वकालत
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले महिला अधिकारको वकालत गुर्नपर्ने सन्देश पनि दिएको पाइन्छ किनकि यो महिलाहरूद्वारा आयोजना, वाचन र श्रवण गर्ने लोककथा हो ।
ग) महान् व्यक्तित्वको कदर
सैयदा बिबी की कहानी नामका यस उर्दू लोककथाले बिबी सैयदा जस्ता महान् व्यक्तित्वको कदर गर्नुपर्ने सन्देश पनि दिएको पाइन्छ । धर्म, समाज, देश र जनताका लागि महत्त्वपूर्ण योगदान गरेका महान् व्यक्तित्वहरूको कदर सदासर्वदा गर्नुपर्ने सन्देश यस लोककथाले प्राथमिकताका साथ प्रवाह गरेको पाइन्छ ।
घ) गरिखाने वर्गको सम्मान
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले गरिखाने वर्गको अस्तित्वको समर्थन गर्नुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथामा सुनार र कुमाले जस्ता गरिखाने वर्गको अस्तित्वलाई स्थान दिइएको पाइन्छ ।
ङ) सामाजिक सद्भाव
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले समाजमा सदा सामाजिक सद्भाव कायम हुनुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथामा यहुदी समुदायको एउटा व्यक्तिले आफ्नी छोरीको विवाहमा मुस्लिम समुदायकी एउटी महिला बिबी सैयदालाई निम्तो गरेको पाइन्छ । यसलाई सामाजिक सद्भाव वृद्धिको एउटा हाम्रो उदाहरणका रूपमा लिन सकिन्छ ।
च) तानाशाही प्रवृत्तिप्रति असहमति
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले तानाशाही प्रवृत्तिप्रति सदा असहमति जनाउनुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथामा क्रूर, निरंकुश एवम् तानाशाही प्रवृत्तिका बादशाह (राजा) तथा शासकहरूले आफ्नो स्वार्थका लागि जे पनि गर्ने हुँदा तिनलाई सामाजिक बहिष्कार गर्नुपर्ने सन्देश पनि दिएको पाइन्छ ।
छ) ईशभय
सैयदा बिबी की कहानी नामक यस उर्दू लोककथाले समाज विकासका लागि मान्छेमा ईशभय हुनुपर्ने सन्देश पनि दिएको पाइन्छ । यस लोककथाले ईशभय राख्नाले मान्छेलाई चारित्रिक शुद्धता प्रदान गर्नाका साथै समाजमा शान्ति स्थापना हुने सन्देश पनि दिएको पाइन्छ ।