श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारका सार्वजनिक बिदाका दिन पनि नियमित रूपमा सञ्चालन हुने भएको छ । मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म नियमित सञ्चालनमा आउने जनाएको हो ।
बिदापश्चात् सो सेवा बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म सञ्चालनमा आउनेछ । मन्त्रालयले श्रम, रोजगार क्षेत्रका साथै वैदेशिक रोजगारीसम्बन्धी गुनासोको तत्कालै सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
निःशुल्क शव ढुवानी निरन्तर
यसैबीच वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपाली कामदारको निःशुल्क शव ढुवानी सेवा तिहारको बिदामा पनि निरन्तर सञ्चालनमा आउने भएको छ । वैदेशिक रोजगार बोर्डले आज एक सूचना जारी गर्दै यही कात्तिक ९ देखि १३ गतेसम्मको बिदाका क्रममा मृतकको शवलाई निजको घर ठेगानासम्म निःशुल्क ढुवानी कार्य नियमित हुने जनाएको छ । शव ढुवानीमा सहजीकरण गर्न बोर्डले तीन कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।