संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकु मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकुहरूले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् ।
सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ । यसैबीच विद्रोही सेनाले हवाई आक्रमण गरी दक्षिणी त्रिपोलीमा सरकारी सेनाका हातहतियार भण्डारमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।
लिबियाको पूर्वी क्षेत्रमा नियन्त्रण कायम गरेर बसेका विद्रोही सेनाले गत अप्रिलदेखि राजधानी त्रिपोली र आसपास सरकारी सेनाविरुद्ध भीषण युद्ध गरिरहेको छ । विद्रोही जनरल खलिफा हफ्तार समूहले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त सरकार विस्थापित गर्ने मुख्य उद्देश्यका साथ राजधानी त्रिपोलीसहित देशका विभिन्न भागमा आक्रमण जारी राखेको छ ।
लिबिया हाल पूर्वी र पश्चिमी सरकारका रूपमा विभाजित भएको छ । सन् २०११ मा तत्कालीन लिबियाली नेता मोउमार गद्दाफीको शासन ढलेसँगै राजनीतिक द्वन्द्वमा फसेको छ ।