हरिविनोद अधिकारी | दृष्टिकोण | कात्तिक ११, २०७६
नेपालका दुई विशेषतायुक्त पर्वहरू हुन्- शैँ र तिहार । अरू पनि धेरै त्यस्ता चाड र पर्वहरू छन् तर नेपालभरि नै प्रभाव पारेका तथा सबै धर्म र सम्प्रदायले जुनजुन तरिकाले भए पनि मनाउने नेपाली चाडहरू यिनै हुन् ।
अहिले तिहारको मौसम छ । शरद ऋतुको यो मौसममा न जाडो छ, न गर्मी, न त पानी परेको छ वा न हिउँ नै पर्न सुरु भएको छ हिमाली भेगमा । त्यसैले यो शारदीय मौसमले आह्लादित बनाएको छ । हिन्दु र बौद्ध सम्प्रदायका लागि यो मौसमले तिहारको समय देखाउँछ भने इस्लाम धर्मका लागि इदको पर्व पनि यसै समयमा पर्न सक्छ । हिन्दुहरूका विभिन्न चाडहरूमध्ये तिहारलाई जसरी जहाँ जसले जुन तरिकाले मनाए पनि नेपालको रैथाने चाडको रूपमा लिइन्छ ।
तिहार भन्ने शब्द सम्भवतः हिन्दीको त्यौहार (पर्व वा चाड)बाट आएको हुनुपर्छ । प्रत्येक पर्वलाई सार्वजनिक रूपमा मनाउँदा त्यौहार भनिने त्यो शब्द टपक्क टिपेर हामीले ल्याएका भए पनि त्यो त्यौहारभन्दा यो तिहार मौलिक र नेपाली विशेषतायुक्त छ।
नेपालका विभिन्न भागमा विभिन्न तरिकाले मनाए पनि नेपाली विशेषतायुक्त किन हो भने तिहारले प्रकृति पुजनलाई जोड दिएको छ । एकातिर यसले धार्मिक र सांस्कृतिक धरोहरको जगेर्ना गरको देखिन्छ भने अर्कोतिर सामाजिक मनोविज्ञानको आधारमा परिवारमा मीठो खाने र राम्रो लाउने अनि परिवारको जमघट हुने पर्वको रूपमा पनि लिइन्छ ।
प्रकृति पुजन भनेको समयको पूजा हो । कालको पूजा हो । स्वयं मृत्युको समेत मृत्यु टार्नका लागि बहिनीले मृत्युको उपासना गर्ने पाँच दिनको यो यमपञ्चकले मानिस, मृत्यु र प्रकृतिका बीचमा रहेको अन्तरसम्बन्धलाई स्पष्ट पारेको छ । यसलाई धार्मिक माने पनि हुन्छ, सांस्कृतिक माने पनि हुन्छ, परिवारमा देखिने माया र ममताको द्योतक माने पनि हुन्छ ।
प्रकृतिमा रहेका विभिन्न प्राणी र वनस्पतिको पूजा हो । सबैको यो पृथ्वी साझा हो । स्वर्ग र पृथ्वीका बीचको सम्बन्धलाई यसले एकाकार गरेको छ । यो मृत्युलोकमा मृत्यु अपरिहार्य हो तर पनि मृत्युलाई विभिन्न तरिकाले केही समयसम्म टार्न सकिन्छ भन्ने पनि यसले सन्देश दिएको छ । त्यो टार्ने भनेको ओखती र ध्यानले, मायाले र संयमले हो भन्ने सन्देश यसको देखिन्छ । किनभने यही हप्तामा नै धन्वन्तरिको पनि उपासना गरिन्छ । लक्ष्मीको उपासना त झन् तिहारको सबैभन्दा महत्त्वपूर्ण साझा चलन हो । लक्ष्मीको उपासना ज्योतिमार्फत् गरिन्छ, राती गरिन्छ ।
लक्ष्मी अर्थात् सम्पत्ति अपरिहार्य चिज हो । उनलाई चन्चलीको रूपमा व्याख्या गरिएको छ । सबैका लागि अपरिहार्य लक्ष्मीको पूजा जहाँ पनि हुन्छ तर हाम्रो नेपालमा लक्ष्मी पूजाको लागि एक दिन राखिएको छ ।
तिहार हाम्रो एउटा धेरै कुराको सम्मिश्रण भएको तर विशिष्ट परम्परा हो । वैदिक, पौराणिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा व्यक्तिगत सम्बन्धको साझा पर्व हो । हामीले यसको मौलिकतालाई जोगाउँदा नेपालको महत्त्वपूर्ण सम्पदा जोगाएको ठहरिनेछ । यो कुनै धर्मको रक्षाभन्दा पनि नेपालीपनको तिहारलाई जोगाउनु नै सम्पदाको जगेर्ना मानिनेछ ।
कागको पूजा, कुकुरको पूजा, लक्ष्मी अर्थात् धनधान्यको पूजा, लक्ष्मीलाई कामधेनु गाईको रूपमा पुज्ने, लक्ष्मीको पूजामा मुद्रा तथा गाईको पूजा अपरिहार्य मानिन्छ ।
गोबर्द्धन अर्थात् गाईको पूजासँगै गाईका सन्तानको पूजा झन महत्त्वपूर्ण मानिएको छ । हामी खेतीलाई महत्त्व दिने नेपालीहरूले गाईसँगै सधैँ परिश्रम गरेर हामीलाई सहयोग गर्ने गोरु वा हलीको नाममा पनि पूजा राखिएको छ । काग तिहार, कुकुर तिहार, गाई तिहार वा लक्ष्मी पूजा, गोबर्द्धन पूजा, हली तिहार वा गोरु तिहार अनि भाइ तिहार वा भाइ टीका । दिदीबहिनीलाई सबैभन्दा प्यारा दाजुभाइहरू नै हुन् । दाजुभाइहरूलाई दिदीबहिनी उस्तै प्यारा हुन्छन् ।
सत्ययुगमा यमुनाले यमराजको पनि लामो आयु होस् भनेर पूजा गरेको प्रसङ्गले कोही पनि अमर नहुने सन्देश दिन्छ एकातिर भने कालको पूजाले समयलाई पनि अमर बनाउनका लागि सन्देश दिने चाडको रूपमा तिहारलाई नेपालमा मात्र मनाइने गरिएको तथ्यहरू फेला परेको छ ।
काग, कुकुर, धन धान्यकी देवी लक्ष्मी, गाई, गोरु र भाइ अर्थात् मान्छेलाई एउटै श्रेणीका राखेर महत्त्व दिँदै राष्ट्रिय रूपमा पर्व मनाउने देश सायद नेपाल नै हो ।
ज्योतिमार्फत् पर्वको महानतालाई पनि यसले देखाउँछ । संसारमा सबैभन्दा ठूला देवता सूर्य नै हुन्, अग्नि नै हुन्, वरुण वा पानी नै हुन्, वायु नै हुन् प्राणवायुका रूपमा हामीमा अन्तर्निहित रहने । यी सबैको पूजा भनेको ज्योति वा दीपको पूजा हो किनभने दीप वा दियो नै सूर्यको प्रतीक हो, ज्योतिको बिम्ब हो, अग्नि नै सूर्य हुन्, सूर्य नै अग्नि हुन् । अनि तिहार दीपावली पनि हो खासमा । एकै पटक यति धेरै कुराहरूलाई संस्कृतिमा सामेल गराउने यो तिहार के नेपाली विशेषतामा छैन त ?
पृथ्वीमा सबैभन्दा स्वर्ग जानका लागि नर्के बगाउनेदेखि यमराज र यमुनाका बीचको बहिनी र दाजुको सम्बन्धलाई सम्झना गरिन्छ । धार्मिक रूपमा मनाउँदा पनि नेपालमा मात्र दाजुभाइलाई दिदीबहिनीले सप्तरङ्गी टीका लगाउने, कहिल्यै नसुक्ने मखमलीको माला लगाएर दीर्घायुको कामना गर्ने चलन प्रचलित छ ।
नेपालमा खेलिने देउसीले पौराणिकतालाई स्पष्ट पार्छ । जव बली राजाका नाममा दैत्यहरूले राज गर्न थाले अनि प्रकृतिको विशिष्ट चलन के हो भने अत्याचार र गलत कामको विरुद्धमा दैवी शक्तिले बारम्बार अवतारको रूपमा पृथ्वीमा आएर त्यसको समाधान गर्ने र समाजमा स्थिति विकास गरी सभ्य संसारमो जग बसाउने । जब हिरण्य कश्यपुका वंश शिरोमणिका रूपमा बलीले अत्याचार गर्न थाले, तब भगवान् विष्णुले वामन अवतार लिएर त्यसबाट मुक्ति दिलाउने काम भयो । मात्र तीन पाइला जमिन माग्ने ती ब्राह्मण बालकले दुई पाइलाले आकाश र पृथ्वी ढाके अनि बचनबद्धताअनुसारमो तेस्रो पाइला मागे । दिने त केही थिएन । यहाँ आकाशले स्वर्गको प्रतीकात्मक अर्थ दिने भयो, पृथ्वीले मर्त्यलोकको अर्थ दिने भयो । अब त बलीको राज्यमा अर्को पाइला दिने ठाउँ नभए पनि शिर देऊ भनियो होला अनि 'देऊ शिरे' भनियो होला । त्यही सम्झनामा अहिले पनि भैलो खेल्दा र देउसी वा द्यौसी खेल्दा देउ शिरे नै भनिन्छ । अर्थात् वामनका तर्फबाट वा माग्न आउनेका तर्फबाट भनियो- हामी त्यसै आएका हैनौँ, बली राजाले पठाएको । किनभने बलीलाई त पाता फर्काएर लडाएको छ उनैको बचनबद्धताले गर्दा किनभने दुई पाउमा नै स्वर्ग र पृथ्वी अटायो अनि तेस्रो पाउ बराबर त चाहियो नै ।
त्यो वामन अवतारको सम्झना स्वरूप आज पनि बलीको बचनबद्धता सम्झँदै बरु शिर देऊ भन्दै अत्याचारको विरुद्धमा जनता जागेको प्रतीकात्मक चाड पनि त तिहार हो । नेपालमा मात्र त्यो पौराणिक परम्परालाई धानेको छ नेपालीले मात्र ।
हामी नेपालीहरू मूलतः किसान हौँ । हामीले संस्कृतिको जगेर्ना गर्दा प्रकृतिको संरक्षण पनि गरेकै हुन्छौँ । गाईको संरक्षण, गोरुको संरक्षण, प्राणी मात्रको संरक्षण हाम्रो खेतीका लागि पनि आवश्यक छ । गाईको गोबरलाई गोबर्द्धन पर्वत बनाएर त्यसको परिक्रमा गर्दा श्रीमद्भागवतको पनि हामीले चलनलाई मानेकै छौँ । वामन पुराणअनुसार पनि हामी चलेकै छौँ । लोकोक्तिलाई पनि हामीले संरक्षण गरेकै छौँ । दान दिने कर्म नै गृहस्थहरूको कर्तव्य भएकाले देउसीमा माग्ने र दान दिने चलन यथावत् नै छ । परिवारका बीचमा प्रेमलाई पनि यसले बल पुर्याएकै छ । दाजुभाइ र दिदीबहिनीका बीचको सम्बन्धलाई झन् कसिलो बनाउने चाडको रूपमा लिइन्छ यसलाई ।
मलाई याद छ- मेरा बाको जन्म दिन हली तिहारका दिन पर्थ्यो । गोरु तिहारको दिन भनौँ । त्यही दिन नै गाईको पूजा पनि गरिन्छ । हाम्रा गाईहरू कहिले धनेघाट, कहिले बितिजोर, कहिले कुखुरेटारमा हुन्थे । बाले मलाई बिहानै नुहाएर ती गाईलाई पिठो, सातु, रोटी, नुन खुवाएर मात्र खाना खानका लागि आदेश दिनुहुन्थ्यो । उहाँको विचारमा गाईको पूजा गरेपछि परिवारमा धनधान्य, शिक्षा र सभ्यताले वास गर्छ भनेर मलाई नै त्यो कामका लागि खटाउनुहुन्थ्यो । म जान्थेँ, गाईलाई घरमा त पूजा गरिन्थ्यो नै, पालेको ठाउँमा पनि मैले पूजा गरेर नुन, रोटी , सातु, पीठो खुवाएर मात्र मैले फर्केपछि मात्र रोटी खाने काम गरिन्थ्यो ।
यदि आज मेरो बा बाँचिरहनुभएको भए १०० पूरा गरेर १०१ मा लाग्नुहुन्थ्यो । तिहार भनेपछि मैले सम्झने बहिनीको हातका टीका, गाउँमा खेलिने देउसी, देउसीमा आउने रोटी र पैसाको भागबन्डामा साथीहरूका बीचमा पर्ने झगडा, आएको दक्षिणामा भाग लगाउँदा बाँड्नेले पैसा लुकाउने चलन आदि हुन् । रोटी हातमा लिएर आँगनमा घुम्दै खाने अनि बहिनीको हातबाट टीका लगाउँदा (सानै बहिनी हुँदा) आमाले आफ्ना हातले मिलाएर टीका लगाउने ।
म ८ वर्ष पुगेपछि मात्र मेरी बहिनी मुना जन्मिएकी हो । अनि म १५ वर्ष भएपछि मात्र कान्छी बहिनी जगदम्बा जन्मेकी हो । बहिनी जन्मँदा सबैभन्दा खुसी मलाई के भयो भने अब यस सालबाट आफ्नै बहिनीले टीका लगाउँछिन् तिहारमा भनेर । त्यो खुसी अहिले पनि यथावत् छ । कान्छी बहिनी अमेरिकामा हुँदा पनि टीकाका बेलामा कुरा गर्न सकिन्छ अहिलेको प्रविधिले गर्दा ।
सबैभन्दा दुःखको कुरा त मभन्दा मुनिको माहिलो भाइ हिमालयको स्वर्गवासले गर्दा २०७० सालको तिहारदेखि हामीलाई तिहारमा एउटा दुःखद सम्झना आइरहन्छ । झन् आमा पनि २०७० सालको चैतमा स्वर्गीय भएपछि तिहार एक प्रकारले खल्लो त लाग्छ तर पनि सबै दाजुभाइ जम्मा भएर टीका लगाउँदा साँच्चै रमाइलो हुन्छ । सायद नेपाली तिहारको महत्त्वपूर्ण पक्ष नै खानपिन, सांस्कृतिक पक्षको संरक्षण, संस्कृति हस्तान्तरणको सहज उपाय हो ।
अन्तमा, तिहार हाम्रो एउटा धेरै कुराको सम्मिश्रण भएको तर विशिष्ट परम्परा हो । वैदिक, पौराणिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा व्यक्तिगत सम्बन्धको साझा पर्व हो । हामीले यसको मौलिकतालाई जोगाउँदा नेपालको महत्त्वपूर्ण सम्पदा जोगाएको ठहरिनेछ । यो कुनै धर्मको रक्षाभन्दा पनि नेपालीपनको तिहारलाई जोगाउनु नै सम्पदाको जगेर्ना मानिनेछ ।