तिहार : जनावरदेखि मान्छेसम्मको पूजा गर्ने पर्व

तिहार : जनावरदेखि मान्छेसम्मको पूजा गर्ने पर्व

रूपक अलङ्कार  |  दृष्टिकोण  |  कात्तिक ११, २०७६

नेपाल सांस्कृतिक रूपले धनी छ भन्ने कुरा पञ्चाङ्ग पल्टाएर हेर्दा थाहा हुन्छ । कुनै एक चाडपर्व नपरेको दिन हुँदैन । अझ कुनै दिन त पर्व खप्टिएका समेत हुन्छ्न् । चर्चा, लोकप्रियता र जनसहभागिताका आधारमा कुनै पर्व विशेष वा महत्त्वपूर्ण भएको आभास भए तापनि सांस्कृतिक हिसाबले सबै चाडपर्व उत्तिकै वैशिष्ट्य र महत्ताले सिँगारिएका हुन्छन् । 

हाम्रो देश वा सनातन सभ्यतामा एकै दिनमा अनेक चाडपर्व पर्नुले हाम्रो सांस्कृतिक समृद्धिलाई त संकेत गर्छ नै, जातीय एवम् सांस्कृतिक विविधतालाई पनि इंगित गर्छ । विभिन्न सभ्यताबाट विकसित हुँदै आजका अवस्थामा आइपुगेका मानव समुदाय एकले अर्काको आस्था र विश्वासलाई  स्वीकार गरेर बसेका हुनाले पनि हामी एकै दिन अनेक उत्सवमा रमाउन पाएका छौँ  । कुनै बेलाका प्रकृति पूजकहरू, भूतप्रेतका उपासकहरू, लिंग पूजकहरू तथा मूर्ति पूजकहरू मात्र नभएर मंगोल, द्रविड जस्ता प्राचीन जात र सभ्यताका अनुयायीहरू मिलेर आजको समाज बनेकाले हामी संस्कृतिमा उन्नत भएका हौँ ।

नेपाल विभिन्न जातजातिहरूको मुलुक हो । जात वंशले मात्र निर्माण हुन्छ भन्ने हुँदैन । जातसित जोडिएर आउने उसको परम्परा, धर्म, संस्कृति, चालचलन, रीतिरिवाज आदि तत्त्व पनि जातका पहिचान हुन् । नेपाल क्षेत्रफलका हिसाबले सानो मुलुक भए तापनि सभ्यता र संस्कृतिका हिसाबले विराट मुलुक हो । त्यस कारण पनि हाम्रो देशमा प्रत्येक दिन पर्व, प्रत्येक दिन उत्सव मनाउन पाइन्छ । 

वनका हरेक इच्छाको समाधान गाईलाई मानेर कामधेनु नाम राखियो । नेपालले त गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गर्दै आएको छ । संसारभर गाईको दूधको पौष्टिकता प्रख्यात छ । त्यस्तो महत्त्वपूर्ण जनावरको पूजा गरेर हामीले हाम्रो कर्तव्य निर्वहन गरेका छौँ ।

बहुसंख्यक जनता सनातनी भएकाले उनीहरूका चाडपर्वले तुलनात्मक रूपमा बढी महत्त्व पाउनु स्वाभाविक पनि हो । त्यही भएर होला, हिन्दुहरूको संस्कृतिले नेपाली संस्कृतिको नेतृत्व गरेको पाइन्छ । 

नेपालीहरूका महत्त्वपूर्ण चाड दशैँ र तिहार हुन् । यी दुवै पर्व शरद ऋतुमा पर्छन् । दशैँले देवी वा मतृशक्तिको उपासनालाई प्राथमिकता दियो । सोहीअनुरूप हामीले दशैलाई बिदा गर्‍यौँ । यतिबेला हामी तिहारको रमझममा छौँ । तिहार नेपाली मूलबाहेकका हिन्दु समाजमा पनि मनाइन्छ  तर स्वरूपमा निकै पृथकता पाइन्छ । जस्तो : भारतीय हिन्दु समाजमा दीपावली अत्यन्त हर्षोल्लास तथा भव्यताका साथ मनाइन्छ तर हाम्रो देशमा जसरी पञ्चक वा पाँच दिनसम्म तिहार मनाउने प्रचलन भारतीय हिन्दु समाजमा पाइन्न । हामी तिहारलाई छुट्टै महत्त्वका साथ मनाउँछौँ । यही समयमा नेवार समुदायले नेपाल संवतको  नयाँ वर्ष र म्हः पूजा पनि मनाउने भएकाले चाडपर्वको 'ओभरल्याप' भएको पाइन्छ । 

तिहारले मानिस र प्रकृतिबीचको अन्योन्यास्रित सम्बन्धलाई उजागर गर्छ । मानिसले मिल्ने भएदेखि आफ्नो जीवनमा साथ र सहयोग पाइनेजति सबै जीवजन्तु वा पशुपन्छीको पूजा तथा सम्मान गर्ने थियो होला तर जटिलताको समाधान नदेखेर उसले प्रतिनिधि स्वरूप काग, कुकुर, गाई एवम्  गोरुको पूजा गर्न थालेको हो । सभ्यताको उषाकालदेखि नै मानिसले आफ्नो जीवनयापनका लागि पशुपन्छीलाई सहयोगी बनाउँदै ल्याएको पाइन्छ । बाज, सुगा, परेवा र काग जस्ता पन्छीलाई आफ्नो अनुकूलताका लागि उपयोग गर्दै तिनिहरूको संरक्षणमा ध्यान दिनु सनातन परम्परा हो । 

पूराणले कागलाइ अत्यन्त अपवित्र पन्छीका रूपमा चित्रित गरेका छन् । भगवत महात्म्यमा पनि कागको गुँड भएको स्थानलाई अपवित्र स्थान भनेको छ । अथर्ववेदमा पनि काग देखेमा शान्ति गर्नुपर्ने भएकाले त्यस कर्ममा मन्त्रहरू विनियोग भएका छन् । त्यस्तो भए तापनि कागको आवश्यकता र महत्त्वलाई यम पञ्चकको पहिलो दिन काग तिहारले प्रस्ट्याएको छ । अफू जताजता गयो, त्यतै लुरुलुरु पछि लाग्ने, चोर्न झुक्याउनभन्दा पनि मानिसको मुखमा आशाका नजरले हेर्ने, पाएकमा खुसी हुने र अरू पाउन प्रयास गर्ने प्रभावकारी स्वभावका कारण कुकुरलाई मानिसले आफ्नो हितैषी बनाउँदै आयो र कालान्तरमा पूजाआजा पनि सुरु गर्‍यो । अहिले पनि कुकुरले मानिसलाई साथ सहयोग गर्दै आएको छ र ढोकादेखि भान्छासम्म निर्बाध उपस्थिति जनाएको छ । बरु मानिसले आफ्नो कुरूप मानसिकताको सफलताका लागि कुकुरको इमानदारीलाई दुरूपयोग गर्नाले कुकुरप्रतिको सम्मान कम हुन गएको छ । 

गाईको सुधोपनाबाट परिचित मानिसले गाइलाई सदा आफूसितै लिएर हिँड्यो । जीवनयापनका लागि अनिवार्य आवश्यकताका रूपमा गाईलाई परिभाषित गर्‍यो अनि  गाउन थाल्यो- गावो विश्वस्य मातर अर्थात् गाई सबैकी आमा हुन् । बाख्रा, भैँसी आदिको दूध खाए तापनि गाईलाई हिन्दु परम्पराले बढी महत्त्व दिएको छ । पञ्चगव्य अर्थात् गाईबाट निस्सृत पाँच पदार्थ दही, दूध, घ्यु, गोमुत्र र गोबरलाई आफैँ पवित्र हुनुका साथै अरूलाई समेत पवित्र बनाउने गुण भएको द्रव्यका रूपमा हेरिन्छ । 

जीवनका हरेक इच्छाको समाधान गाईलाई मानेर कामधेनु नाम राखियो । नेपालले त गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गर्दै आएको छ । संसारभर गाईको दूधको पौष्टिकता प्रख्यात छ । त्यस्तो महत्त्वपूर्ण जनावरको पूजा गरेर हामीले हाम्रो कर्तव्य निर्वहन गरेका छौँ ।

गोरुले मानिसको भार आफ्नो काँधमा वहन गर्दै आएको छ । कृषियुगमा हलोको आविष्कार भएपछि हलो तान्ने काम गोरुले आफ्नो जिम्मामा लियो । पांग्रा बनेपछि गाडा तान्ने काममा उही अघि सर्‍यो । हुनत घोडा, खच्चर, गधा, याक आदिले पनि भार वहन गरे र रथ ताने तर पनि कृषिका लागि गोरुजतिको प्रभावकारी अरू भएनन् वा मानिएनन् । खासमा गोरु पूजा गरियो कि गधा, त्यो महत्त्वपूर्ण कुरा होइन, महत्त्वपूर्ण कुरा त मानिसले आफ्ना उपकारक प्राणीहरूको सम्मान र संरक्षण गर्‍यो कि गरेन र भावी पुस्ताका लागि आवश्यक वस्तुको जोहो गर्‍यो कि गरेन भन्ने हो ।

तिहारको अन्तिम दिन भाइपूजा गरिन्छ । दाजुभाइलाई दिदीबहिनीले टीका लगाइदिन्छन्, उपहार दिन्छन्, सुस्वास्थ्य, समृद्धि एवम् दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई द्रव्यभेटी प्रदान गर्छन् । भाइतिहारको विधि यही नै हो । यसलाई निरन्तरता दिने क्रममा अनेकौँ नियम, उपनियम, विनियमहरू बने होलान् । जसरी भए पनि तिहारको उत्कर्षका रूपमा भाइटीका स्थापित भएको छ । 

सबैमा तिहार/दीपावली/भाइटीकाको शुभकामना !