विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधवार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरूबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्विटरले जनाएको छ ।
ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्विट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरूले दुरूपयोग गर्ने सम्भावना बढी देखिएको बताउनुभएको छ । उहाँले यही हतियारका आधारमा लाखौँ जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गर्नुभएको छ ।
अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य जाँच गर्न तीब्र दबाब परेको छ । डोर्सेले नयाँ नीतिबमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने बताउनुभएको छ । उहाँले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने जानकारी दिनुभयो ।
तर, फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गर्नुभएको छ । प्रतिबन्धले स्वतन्त्र र नयाँ आवाजलाई दबाउने जुकरबर्गको तर्क छ । तर, डोर्से भने जुकरबर्गको तर्कसँग सहमत हुनुहुन्न । डोर्सेले कुनै राजनीतिक विज्ञापनबेगर पनि ठूला र धेरै सामाजिक अभियानहरू सञ्चालनमा आएको बताउनुभयो ।
'अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो', सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्विट गर्नुभएको छ । 'फेसबुकको भनाइ के छ ?', क्लिन्टनले प्रश्न गर्नुभएको छ ।