बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा विमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीवार घोषणा गरेको छ । यसअघि नै दुईवटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।
अस्ट्रेलियाली राष्ट्रिय ध्वजावाहक क्वान्टासले एउटा विमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरू ३२ विमानको पनि परीक्षण गर्न लागेको छ तर कम्पनीले यात्रुहरूलाई चिन्ता नलिन आग्रह गरेको छ । गत अक्टोबरको सुरुमै दक्षिण कोरियाली अधिकारीहरूले विमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौवटा विमान ग्राउन्डेड गरेका थिए ।
यी विमानमध्ये कोरियन एयरका पाँचवटा थिए । विमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले विमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो । क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीवार नै एक हजार विमानमध्ये ५ प्रतिशतभन्दा कम विमानमा ससाना दरार देखिएको बताएका छन् । प्रवक्ताले ती विमानको मर्मत सुरु भइसकेको पनि जानकारी दिए ।
क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नुकले विमान पूर्ण रूपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि विमान नउडाउने बताउनुभयो । अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका विमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर, क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका विमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ ।
यी विमानहरू सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजिल्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ । अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा विमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।
बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुईवटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका विमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।