झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिवारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप, २०७६’ नाम दिइएको प्रतियोगितामा पाँचवटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ । यही कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठवटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लो पटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन ।
गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमनेसामने हुने भएका छन् । प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुईवटा भारतीय टोली सिक्किम आक्रामक र सङ्कटा क्लब मोलवे आसामको सहभागिता रहने बताइएको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रूपन्देहीको सहभागिता रहनेछ ।
असोज दोस्रो सातादेखि प्रतियोगिता सुरु हुने तयारी गरिए पनि मौसमको प्रतिकूलताका कारण खेल स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल सङ्घसँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको बताइएको छ । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल खेल हुने गरी प्रतियोगिता हुन लागेको छ ।
प्रतियोगिताका लागि लगभग पाँच हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिनुभएको छ । दश हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइएको छ । खेल संयोजक राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ‘ब्रान्ड एम्बेसडर’ बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदीयमान खेलाडीले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।
झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र विर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गर्नुभएको हो । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताउनुभएको छ ।