बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयु)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै बेलायतको उक्त भनाइ सार्वजनिक भएको हो ।
'यो व्यापार सम्झौता अब होला भन्ने लाग्दैन । हामी बेलायतसँग व्यापार सम्झौता गर्न सक्दैनौँ', बेलायती मतदातालाई प्रभावित तुल्याउने गरी एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । ब्रेक्जिटमा संसदभित्र सहमति नजुटेपछि बेलायतमा आगामी डिसेम्बर १२ मा संसदका लागि मध्यावधि चुनाव हुँदै छ । युरोपेली संघबाट बेलायतको बहिर्गमन हुनासाथ दुवै देशबीच निकै राम्रो व्यापार सम्झौता गर्न आफू तयार रहेको गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । तर, राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले अन्योल बढाएको छ ।
अमेरिकी राष्ट्रपतिले बेलायती मुख्य विपक्षी नेता जेरेमी कोर्बिनमाथि निरन्तर आक्रमण गरिरहनुभएको छ । ट्रम्पले सन् २०१६ को जनमतसंग्रहमा मुख्य भूमिका निर्वाह गरेका नाइजेल फाराजसँग एकता गर्न पनि प्रधानमन्त्री जोन्सनलाई सुझाव दिनुभएको छ । 'कोर्बिन त बेलायतका लागि निकै खराब मानिस हुन्', ट्रम्पले नाइजेल फाराजलाई फोन गरी बताउनुभएको बेलायती रेडियो स्टेसन एलबीसीले प्रसारण गरेको छ ।
नयाँ ब्रेक्जिट पार्टी गठन गर्नुभएका फाराजले युरोपेली संघबाट कुनै सम्झौता बेगर नै बेलायत बाहिरिनु उपयुक्त हुने भन्दै चुनावी प्रचार गरिरहनुभएको छ । फाराजले चुनावी गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्री जोन्सनले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तर्वार्ता प्रसारण भएलगत्तै बेलायती संसदमा मुख्य विपक्षी दलका नेता कोर्बिनले ट्विट गर्दै बोरिस जोन्सनलाई जिताउन ट्रम्पले बेलायतको चुनावमा हस्तक्षेप गर्न कोसिस गरेको आरोप लगाउनुभएको छ ।