महेश क्षितिज | साहित्य | कात्तिक १६, २०७६
हाम्रो छानामाथिको आकाश च्यातिएर
हजारौँ नदी हामफालेका छन् घरैभित्र
हामी नागरिकता च्यापेर सीमान्त छातीमा
दु:खको पल्लो फालबाट सरकार कल्पिरहेका छौँ ।
सोच्दै छौँ-
देशको मानचित्रबाट कहिले हरायो हाम्रो नाम ?
किन अस्तायो हाम्रो किनाराको सार्वभौम घाम- यति चाँडै ?
पोहोर परार जस्तै डुब्छ घर यसपालि पनि
लैजान्छ बाढीले सिरानीमुनिको सपना
भत्किन्छ आँखामा बाँधेको पसिनाको दुवाली
तैरिन्छन् बाआमाहरू लाससहित यही चक्रवातमा ।
खबर यो राजधानी पुगेपछि
आउँछ हाम्रो आकाशमा हेलिकोप्टर
खसालिदिन्छ म्याद गुज्रिएका सिटामोल
केही बिस्कुट र रारा चाउचाउका प्याकेट
बगेर जान्छन् ती पनि हाम्रै सीमान्त मृत्युमा ।
हामी कामना गरिरहेका छौँ-
यो विपत्तिमा सकुशल फर्कियोस् हेलिकोप्टर
हाम्रो नियतिमा नखसोस् हेलिकोप्टरभित्रको देश ।
राहत बाँडेको खुसीमा सरकारले बनाउँछ विज्ञप्ति
छापिन्छन् ठूला अखबारहरूमा समाचार पनि ।
हेलिकोप्टरबाट चाउचाउ फाल्नेहरूले
देश फ्याँकिदिए
हामी अञ्जुलीमा संकट बोकेर चिच्याइरहँदा
सीमान्त आँसुसँगै देश रोयो ।
यता, हामी साँच्चै आँसु नै पिइरहेका हुन्छौँ
साँच्चै छोराछोरी बगाइरहेका हुन्छौँ
देशको समाजशास्त्र बगाउँदै गरेको पानी हेरेर
पहिचानको मृत्यु मरिरहेका हुन्छौँ ।
परार ठूलो छोरो बग्यो, पोहोर ठूली छोरी बगी
यो साल सानी छोरी कसरी सकिएला बचाउन ?
छातीमा च्यापेको नागरिकताको प्रतिलिपि
जब खोसेर बगायो पानीले
तब नुनिलो आँसुको थोपाले
कोर्यौँ एउटा देशको नक्सा ।
बुढिया र म भाग्दै छौँ च्यापेर सानी छोरी
अज्ञात अँध्यारोतिर
खेदिरहेका छन्- जमिनका सप्तकोसीहरूले
कुटिरहेको छ- शिरमाथिको सगरले ।
हामी यसरी छोड्दै छौँ घर
जसरी मरेको जीव छाडेर भाग्छन् उपियाँ र जुम्राहरू ।
हामी भाग्दा भाग्दै सोच्दै छौँ
सरकार बस्ने महलमा बर्खाको पीडा
किन हामफाल्दैन हाम्रो धुरीबाट हामफालेजस्तै ?