न्यूजिल्यान्डमा जारी इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजिल्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जीतसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।
यसअघि गत शुक्रवार भएको पहिलो टी२० खेलमा इङ्ग्ल्यान्डले न्यूजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो । आइतवारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले ८ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । न्यूजिल्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए । निशामले चार छक्का प्रहार गरेका थिए ।
जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । ४ विकेटमा ९१ रन बनाएको इङ्ग्ल्यान्डले १५५ रनमा सबै विकेट गुमाएको थियो । न्यूजिल्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर तीन विकेट तथा टिम साउदी, लकी फर्गुसन र इस सोढीले दुई-दुई विकेट लिएका थिए । अन्तिम टी२० खेल आगामी मंगलबार नेल्सनमा खेलिनेछ ।