अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्वप्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्वराष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजीनामा गरेपछि राष्ट्रपति पद रिक्त छ ।
अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जना मात्र योग्य रहेको जानकारी दिनुभयो । संविधानअनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद् समक्ष प्रस्तुत गरिनेछ ।
चुनावी सर्वेक्षणहरूका अनुसार पूर्वप्रधानमन्त्रीहरू अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपंक्तिमा रहनुभएको छ । करिब २० वर्ष शासन गरेका पूर्वराष्ट्रपति बौतेफ्लिका विरुद्ध अल्जेरियाली जनताले तीब्र विरोध गरेपछि सेनाको दबाबमा गत अप्रिलमा राजीनामा दिनुभएको थियो । राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरूमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्रेटिक नेसनल र्याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्वपर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहनुभएको छ ।
अधिकारकर्मीहरूले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन् । अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहनुभएको छ । आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाइ गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन् ।
सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध जारी छ ।