यसरी मनाइन्छ कुलुङ जातिको नयाँ वर्ष चाक्चाकुर

यसरी मनाइन्छ कुलुङ जातिको नयाँ वर्ष चाक्चाकुर

चन्द्रसिंह कुलुङ  |  दृष्टिकोण  |  कात्तिक १८, २०७६

पृष्ठभूमि

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा १२५ जाति र १२३ भाषा बोल्ने जाति तथा समुदाय छन्, जसमध्ये कुलुङ पनि एक स्वतन्त्र जाति हो । कुलुङ जातिको आफ्नै स्वतन्त्र भाषा छ । पछिल्लो जनगणनाअनुसार कुलुङ जाति २६ जिल्लामा पाइएका छन् । उक्त जनगणनाअनुसार यस जातिको जनसङ्ख्या २८ हजार ६१७ र कुलुङ भाषा बोल्नेहरूको सङ्ख्या ३३, १७० देखिएको छ । यद्यपि, यिनीहरूको जनसङ्ख्या अझै बढी रहेको कुलुङ जातिको प्रतिनिधिमूलक राष्ट्रिय संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको दाबी रहँदै आएको छ ।

कुलुङ जाति आफूलाई प्राचीन किराती वंशका एक अंश जातिका रूपमा मान्छन् । यस जातिको ऐतिहासिक थलो तथा भूगोल सोलुखुम्बू जिल्लाको छेस्काम, बुङ, गुदेल, सोताङ र पावैलाई मान्दै आएका छन् । इतिहासको कालखण्डमा यी जातिका सदस्यहरूको जनसङ्ख्या विस्तार हुँदै गर्दा जीवन निर्वाहका लागि छिमकी जिल्ला संखुवासभा र भोजपुरका सिमानाहरूमा समेत विस्तार भई घना रूपमा बसोवास गर्दै आइरहेका पाइन्छ । पछिल्लो कालमा यी तीनै जिल्लाबाट अधिकांशत: पूर्वका तराई तथा पहाडतर्फ बसाइँसराइसमेत गरेकाले छरपष्ट भएर समेत बसोवास गर्दै आइरहेका छन् ।

कुलुङ जातिका आफ्नै मौलिक संस्कार, परम्परा तथा रीतिरिवाज छन् । उनीहरूको जीवनचक्रको बाल्यकाल, किशोर, युवा, वयस्क, वृद्ध तथा मृत अवस्थासम्म गरिने आफ्नै प्रकृतिका जन्म, विवाह र मृत्युका संस्कारहरू छन् । महिला र पुरुषका लागि गरिने लैंगिक संस्कार छन् ।

पवित्र जाँडको अतिरिक्त यस अवसरमा ‘पितितिऊ’को आवश्यकता पर्छ । ‘पितितिऊ’ भन्नाले विशेष प्रकारको बाँसको ढुंग्रोमा पकाइएको नयाँ बाली धानको भात वा कोदोको ढिँडो हो । ‘पितितिऊ’ स्थानअनुसार धान या कोदोको मात्रै वा दुवैको हुन सक्छ । कुलुङहरू बस्ने स्थानमा दुवै अन्न उत्पादन हुन्छ, त्यहाँ दुवै नभए सामान्यतया कोदो भने कुलुङहरू बसेको वस्तीमा पाइने अन्नबाली हो ।

जीवन निर्वाहका लागि आवश्यक आहारविहारका वस्तु, अन्न, पानी, भूमि, खोलानाला, नदी, पहाड, पर्वत, आकाश, बादल, वर्षा र समग्रमा प्रकृति र भूमण्डललाई पुज्ने परम्परा पुस्तान्तरण हुँदै आइरहेको छ यस जातिमा । यीमध्ये एक हो, ‘चाक्चाकुर ।’ कुलुङ भाषाका ‘चाक्चाकुर’को शाब्दिक अर्थ हुन्छ– विक्रम सम्वत्को पात्रोअनुसार पर्ने पुस महिना । अर्थात् पुस महिनामा मनाइने चाड परेकाले यसलाई छोटकरीमा कुलुङ समुदायले ‘चाक्चाकुर’ भन्ने गरेका छन् । यसो भए तापनि यस पर्वको पूरा नाम मिनारी दाचाम् चासुम्लो नि:ङ दोङ हो । यसको अर्थ हुन्छ– मानिसको पौरखबाट उत्पादित तथा भण्डारित अन्नको वितरण गरी सामूहिक भोज खाने नयाँ वर्षको चाड । छोटकरीमा यस पर्वलाई ‘चाक्चाकुर’ भनिने गरिएको छ ।

यस पर्वको प्रारम्भदेखि दिन लामो हुने र नयाँ ऋतुसमेतको परिवर्तन हुने हुनाले यसलाई ऋतु परिवर्तनको चाडसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ । ऋतु परिवर्तनलाई कुलुङ भाषामा ‘फाइम्’ भनिन्छ । त्यसैगरी पछिल्लो समयमा आएर नयाँ वर्षलाई प्राचीन किराती शासक यलम्बर हाङको शासनकालसँग जोडी यलम्बर सम्वत् अर्थात् येलेसम्वत्को रूपमा समेत मनाउँदै आइरहेका छन् । त्यसैले चाक्चाकुर पर्वलाई मिनारी दाचाम् चासुम्लो निङदोङ् फाइम् येलेदोङ चाक्चाकुरसमेत भन्ने गरेको पाइन्छ ।

यो कुलुङहरूले नयाँ वर्षको रूपमा मनाइने वार्षिक चाडका साथै ऐतिहासिक परम्परासमेत जोडेर मनाइने चाड हो, जसरी नेपाली समाजका अन्य समुदायहरूले आफ्नाआफ्ना परम्पराअनुसारका नयाँ वर्ष मनाउने गर्छन् । तर, उक्त चाडसँग सम्बद्ध मिथक/इतिहास, विधि, समय, प्रयोग हुने सामग्री, विविध पक्षहरूसँगको अन्तरसम्बन्ध र परिवेश आदि भिन्न छन् । यसका अतिरिक्त यस चाड नयाँ पर्वको कार्यान्वयनमा उठ्दै आएका सबालहरू र तिनको समाधानका लागि समुदायको प्रयत्न र लोकसंस्कृति संरक्षणका लागि केही सुझावहरू समेत राख्ने प्रयत्न यस लेखमा गरिएको छ ।

चाक्चाकुर पर्वको मिथक/इतिहास

कुलुङ जातिले मनाउँदै आएको नयाँ वर्ष चाक्चाकुरको मिथकको सन्दर्भमा कुरा गर्दा सङ्खुवासभाबाट बसाइँ सरी हाल सुनसरीमा स्थायी बसोवास गर्दै आउनुभएका ७४ वर्षीय वीरचन्द्र रिन्हो कुलुङज्यूले प्रत्येक वर्ष धरान, सुनसरीमा मनाइने चाक्चाकुरको अवसरमा २०६५ सालदेखि भन्दै आइरहनुभएको कुरा यस्तो रहेको छ ।

‘उहिले कुलुङका पुर्खाहरूले सामूहिक रूपमा गरेको परिश्रमले खनजोत गरी उत्पादन गरेको अन्न भकारीमा राख्ने गरिन्थ्यो । उक्त भण्डारण गरिएको अन्न समुदायका सबै सदस्यहरू भेला भएका समयमा वितरण गरिन्थ्यो । आफ्नो परिश्रम र पौरखले कमाएको अन्न तथा खाद्य सामग्री समुदायका सबै सदस्यहरूसँग बसी खाने गरिन्थ्यो । यो कार्य सामान्यतया ऋतु परिवर्तन हुने समयमा गरिने प्रचलन थियो । आजको समयमा भन्नुपर्दा नयाँ वर्षमा खाइने वनभोज जस्तो रहेछ त्यो । कुलुङ भाषामा यो वनभोजको दिनलाई भन्नुपर्दा मिनारी–दाचाम् चासुम्ले नि:ङ दोङ चाक्चाकुर भन्ने गरिएको छ ।’

किंवदन्तीका अनुसार चाक्चाकुरको पहिलो दिन, दिन र रातमा परिवर्तन हुने समय मानिन्छ । रात छोटिने र दिन लम्बिने गर्छ । यस सन्दर्भमा आदिवासी जनजातिको राष्ट्रिय संस्था आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा हालै (२०७४) प्रकाशित तथा ईन्द्रबहादुर कुलुङद्वारा लिखित ‘किराती कुलुङ’ नामक पुस्तकमा (पृ. १३०) उल्लेख गरिएअनुसार ‘यस समयमा कुखुराले डिम्मा ओथारी चल्ला निकालेमा सो चल्ला घाम हेर्दै उत्तानो परेर पर्ने गर्छ, जसलाई कुलुङ भाषामा नाम आइवा (घाम फर्केको) भनिन्छ’ भनी उल्लेख गरिएको छ ।

त्यसैले यस समयमा कुखुराका पोथीले काढेका चल्लाहरू प्राय: मर्ने विश्वास रहेको छ । कारण, काढिएका चल्लाहरूले उत्तानो परी उज्यालोको ताप तापिरहँदा घामको प्रकोपले मर्ने भनाइ छ । यस अवस्थालाई कुलुङ भाषामा ‘नाम् आइवा’ भनिन्छ । अर्थात् घाम फर्केको समय भन्ने गरिन्छ । नाम् भनेको घाम र आइवा भनेको फर्केको भन्ने अर्थ लाग्छ ।

चाक्चाकुरको समय

चाक्चाकुर वास्तवमा महिनाको नाम हो । कुलुङ समुदायको चाक्चाकुर महिना विक्रम सम्वत्अनुसार १५ पुसदेखि १४ माघसम्म सामान्यतया पर्छ, जुन करिब करिब अङ्ग्रेजी महिनाको डिसेम्बरको अन्त्य या जनवरी प्रथमतिर पर्न आउँछ । गुरुङ (तमु) जातिको नयाँ वर्ष ‘ल्होसार’ पनि १५ पुसमै पर्छ, जसमा नेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।

कुनै पनि भौगोलिक स्थानका कुलुङ समुदायहरूले निर्धारण गरेअनुसार मुख्य स्थानमा सामूहिक रूपमा मनाउने गर्छन् भने आफ्नो टोलटोल र गाउँगाउँमा छुट्टाछुट्टै पनि यो चाड मनाउने गर्छन् ।  सामूहिक रूपमा मनाउने दिन भने १५ पुसमै मनाइन्छ । सामूहिक रूपमा मनाउनुभन्दा अघि या पछि आफ्नो टोल र गाउँमा समेत मनाउने हुनाले यो पुस महिनाभरि नै मनाउने गर्छन् । सारांशमा भन्नुपर्दा चाक्चाकुर एक ऋतु परिवर्तनको समय मानिन्छ ।

तत्कालीन सोलुखुम्बू जिल्लाको बुङ गाविस तथा हाल महाकुलुङ गाउँपालिकाका स्थायी निवासी मानवशास्त्री अर्जुन मान्थेर्बु कुलुङसँग २०७३ सालको पुस महिनामा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ काठमाडौंद्वारा आयोजित ‘मिनारी दाचाम् निङदोङ फाइम चाक्चाकुर’ कार्यक्रममा भेटको अवसरमा भएको कुराकानीअनुसार ‘नि:ङ दोङ’ शब्दले नयाँ वर्ष भन्ने जनाउने गर्छ । नयाँ वर्ष भन्नु भनेको ऋतु परिवर्तन भएर नै हुने भएकाले ‘फाइम्’ शब्दको प्रयोग नगरे पनि हुन्छ भन्ने धारणा राख्नुहुन्छ उहाँ । १५ पुसमा मनाइने पर्वपछि उभौली समय लाग्ने वा समय परिवर्तन हुने गर्छ ।

चाक्चाकुरको पूजा अर्चना विधि

धरान, सुनसरीका कुलुङ संस्कृतिविज्ञ मालुमधोज पिदिसैसँग १८ भदौ २०७४ मा गरिएको कुराकानीअनुसार कुलुङ जातिका परम्परागत संस्कार संस्कृति गर्दा सुक्तुलु अर्थात् पवित्र अग्नि प्रज्ज्वलित चुह्लोको पूजा गरेर नै गर्ने चलन छ । सबैभन्दा पहिला कुलुङहरूमध्येको सुक्तुलु (चुह्लो) पुज्ने पुजारी नोक्छोको सहयोगले आफ्नै भाषामा पूजा अर्चना गरिन्छ । चुह्लो पुज्ने कार्यलाई ‘साइपोम्’ भनिन्छ । ‘साइपोम’को अर्थ कुल देवताहरूको शिर उठाउने भन्ने हो । पूजा अर्चना गर्दा नमस्कम् (बाँस वा काठको चम्चा जस्तै)ले ताम्दी (विशेष प्रकारको शुद्ध कोदोको जाँडको रस) सुक्तुलुलाई चढाइन्छ । ज्येष्ठ कुलुङहरूले नस्कम्को सहायताले ताम्दी चढाउने गर्छन् भने नोक्छो (पुजारी)ले कुलुङ भाषामा पवित्र मन्त्रोच्चारण गर्छन् ।

कुलुङहरूको घरमा अनिवार्य रूपमा तीन पवित्र लुङ (ढुंगा) विधिपूर्वक स्थापना गरी सुक्तुलुको निर्माण गरिएको हुन्छ । यो सुक्तुलुको ढुंगा ती अलगअलग ज्येष्ठ सदस्यले एकैचोटि गाडी स्थापना गर्नुपर्छ भन्ने विश्वास रहेको छ ।

यो तीन पवित्र ढुंगाको नाम अलगअलग रहेको छ । पहिलो लुङ (ढुंगा)को नाम हो, पाखालुङ । यसले कुलुङका आफ्ना पुर्खाहरूलाई प्रतिनिधित्व गर्छ । दोस्रो हो, माखालुङ, जसले मातृत्व (आमा)को प्रतिनिधित्व गर्छ र तेस्रो हो, साम्बेलुङ, जसले इष्टमित्र, छरछिमेक तथा अन्यको प्रतिनिधित्व गर्छ ।

१७ भदौ २०७४ मा कुलुङ संस्कृतिविद् वीरचन्द्र रिन्हो कुलुङसँग कुराकानी गरिएअनुसार कुलुङ जातिको पवित्र र शक्तिको स्रोत ‘सुक्तुलु’मा प्रथम पूजा अर्चनापश्चात् केही दूरीमा रहेको चारितोस्खम्मा गई पुन: नोक्छो (भूमि तथा प्रकृतिसम्बन्धीका पूजारी)ले भूमि र भूमिथानलाई पुज्छन् । कुलुङ भाषामा चारी भन्नाले भूमि र तोस्खम् भन्नाले भूमिथान भन्ने बुझिन्छ । भूमि र भूमिथानलाई पूजा गर्नु भनेको मानव प्राण बचाउन आवश्यक अन्न बाली उब्जाउने भूमि तथा प्रकृतिलाई आफूले सेवन गर्नुभन्दा अघि प्रथम भाग अर्पण गरी प्रकृतिलाई खुसी पार्नु र प्रकृति प्रदत्त नयाँ अन्न बालीको उपभोग गर्न अनुमति प्राप्त गर्नु हो ।

कुलुङ समुदायको घना वस्ती रहेको धरानको देवीगाउँमा २०६९ सालमा आयोजना गरिएको विशिष्ट चाक्चाकुर पर्वको अवलोकन गर्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । उक्त अवसरमा देखिएको दृश्यअनुसार चारितोस्खम्को पूजा अर्चनापश्चात् कुनै निश्चित स्थानमा नयाँ अन्न बालीका मौलिक व्यञ्जनहरू तयार पारी राखिएका थिए । चाक्चाकुरको भोज खाने समयमा सबैभन्दा पहिला नोक्छोलगायत ज्येष्ठ सदस्यहरूलाई विशिष्ट खान्की पस्किने गरिन्छ ।

नोक्छोले रिसिया (मन्त्रोच्चारण) फलाकी प्रकृति तथा पुर्खाका आत्माहरूलाई नयाँ अन्न बालीको व्यञ्जनको भेट गरी आफैँ सेवन गर्छन् । तत्पश्चात् ज्येष्ठ सदस्यहरूलाई व्यञ्जन तथा मिष्ठान्न उपभोग तथा सेवन गर्न जानकारी गराउँछन् । त्यसपछि चाक्चाकुर मनाउन आएका सबै सहभागीहरूलाई प्रसादको रूपमा उपभोग तथा सेवन गर्न वितरण गरिन्छ ।

चाक्चाकुर पर्वमा प्रयोग हुने सामग्री

चाक्चाकुरमा प्रयोग हुने सामग्रीहरूमा पंक्तिकार स्वयंले देखेअनुसार पहिलो चरणमा पूजा अर्चनाका लागि स्थापित ‘सुक्तुलु’ र त्यसमा पूजा अर्चनाका लागि जीवन्त स्वरूप अग्नि आवश्यक हुन्छ । अग्निमा हवनका लागि कोदो, मर्चा र पानीको सम्मिश्रित घुलनबाट पूजा अर्चनाका लागि विशिष्ट उद्देश्यका लागि निर्मित पवित्र तरल जाँड (ताम्दी), सो पवित्र तरल वस्तु राख्न मुख्य पुजारीका लागि ‘वाबम्’ (चिण्डो)को आवश्यकता पर्छ । यसका अतिरिक्त पुजारीलाई पूजा अर्चनामा हवन गर्न सहयोग गर्ने ज्येष्ठ सदस्यहरूका लागि ‘सोङ्ली’को आवश्यकता पर्छ । खस नेपाली भाषामा ‘सोङ्ली’ भन्नाले विशेष प्रकारको बाँसको ढुंग्रोलाई बुझिन्छ । शहर बजारका छेउछाउ बसेका कुलुङहरूले बाँस नपाइएको खण्डमा सिसाको बोतल पनि प्रयोग गर्ने गर्छन् ।

कुलुङ संस्कृतिविज्ञ मालुमधोज पिदीसै कुलुङका अनुसार पवित्र जाँडको अतिरिक्त यस अवसरमा ‘पितितिऊ’को आवश्यकता पर्छ । ‘पितितिऊ’ भन्नाले विशेष प्रकारको बाँसको ढुंग्रोमा पकाइएको नयाँ बाली धानको भात वा कोदोको ढिँडो हो । ‘पितितिऊ’ स्थानअनुसार धान या कोदोको मात्रै वा दुवैको हुन सक्छ । कुलुङहरू बस्ने स्थानमा दुवै अन्न उत्पादन हुन्छ, त्यहाँ दुवै नभए सामान्यतया कोदो भने कुलुङहरू बसेको वस्तीमा पाइने अन्नबाली हो ।

नयाँ बाली शुद्ध कोदोबाट निर्मित जाँड, मृत पुर्खाका आत्माहरूबाट स्वीकृति लिन सुक्तुलुमाथि निर्मित दाम्फे र पूजा अर्चना गर्न ज्येष्ठ सदस्यहरूसहित नोक्छोको उपस्थिति अनिवार्य हुन्छ । दाम्फेलाई सरङ्ग पनि भन्ने गरिन्छ । दाम्फे भन्नाले सुक्तुलुको पाखालुङमाथि काठ ठोकी अड्याएर राखिएको फल्याक हो, जसमा मृत पुर्खाहरूको आत्माको बास रहने विश्वास गरिन्छ । नोक्छोले मन्त्रोच्चारणसहित चिण्डोको पवित्र सम्मिश्रण अग्निमा चढाउन ‘नास्केम्’ (बाँसको चम्चा जस्तो) आवश्यकता पर्छ र साथमा ज्येष्ठ सदस्यहरूले थप सहयोग गर्दै मृतक पुर्खाका आत्माहरूलाई प्रशन्न गराउने कार्य गरी नयाँ अन्न बाली उपभोग गर्ने अनुमति माग्ने गरिन्छ । कुलुङहरूले पुज्दै आएका मृत पुर्खाका आत्माहरू कुल देवताका रूपमा नै मानिन्छन् ।

दोस्रो चरणमा नोक्छो र ज्येष्ठ सदस्यहरू चारी तोस्‌खसम्‌ गएको समयमा बाँसको चोयाबाट निर्मित थुन्सेमा कोदोको तरल जाँड (वा कोदो, मर्चा र पानीको सम्मिश्रण) भरिएको चिन्डोहरू वा जाँडले भरिएका बाँसको ढुंग्र्रोहरू र चाक्चाकुरका दिन उपभोग गर्न बनाइएका मिष्ठान्न तथा व्यञ्जनका परिकारहरूका नमुना अंशहरू लाने गरिन्छ । ती सामग्रीहरू चारी तोस्‌खसम्‌ भेट गरी सर्वसाधारणले उपभोग गर्न प्रकृतिबाट अनुमति मागिन्छ ।

तेस्रो चरणमा चारी तोस्खसम्बाट फर्किएपछि प्रयोग गर्ने सामग्रीहरूमा दिछारी पनि पर्छ । दिछारी जाँडको घ्याम्पा राख्नका लागि बाँस वा काठले बनाइएको विशेष स्थान हो । दिछारीमाथि राखिएका माटाको घ्याम्पाभित्र राखिएको शुद्ध नयाँ बाली (कोदो)को छिप्पिएको जाँड, कुलुङहरूले परम्परादेखि उपभोग गर्दै आएका अन्नहरू (फापर, कोदो आदि)को ढिँडो, सिस्नुको दाल, तरकारीका साथै वाक्पुम् अर्थात् नयाँ बाली मकैका उसिनेका दानाहरू र गोरुको मासु भोर्ला वा केराको पातमा पस्की विशेष सांस्कृतिक भोजनको रूपमा उपभोग गर्ने प्रचलन छ । विशेष प्रकारको बाँसको टुक्रालाई दुई फ्याक गरी बनाइएको खपेटा वास्तवमा सिस्नु, मासु राखी नोक्छो (पुजारी) र ज्येष्ठ सदस्यहरूलाई प्रसादको रूपमा दिने प्रचलन छ ।

‘दिछारी’ अर्थात् जाँडको घ्याम्पा राख्ने स्थानको निर्माण विशेष स्थानमा विशेष प्रकारले गरिएको हुन्छ । किनकि दिछारीमाथि राखिने माटाको घ्याम्पाको पिँधमा सानो प्वाल पारी पराल वा कपडाको टालाले टाली राखिन्छ । जब नोक्छोले उपभोग गर्नका लागि खुला गर्छ, तब पालैपालो बाँसको ढुंग्रोमा वा डबकामा दिछारीमाथि राखिएको घ्याम्पाको पिँध खोली प्वालबाट निस्कने निघारको जल (प्रसाद) सहभागीहरूलाई प्रदान गरिन्छ । यसलाई कुलुङ भाषामा ताम्दी भनिने गरिन्छ । यो ताम्दी पिस्चिँग (ससानो बाँसको पिपा/पाइप)को सहयोगबाट पिउने पनि गरिन्छ । आजभोलि बाँसका सामग्रीहरूको अभाव भएकाले आधुनिक र सरल सामग्रीहरू, जस्तै : धातु वा प्लास्टिकका मग, डबका आदिसमेतको प्रयोग गरेको पाइन्छ ।

कुलुङहरूको उद्गम थलोको रूपमा मानिएको सोलुखुम्बू जिल्लाको महाकुलुङ गाउँपालिकाभित्र पर्ने गाउँ, गुदेलका स्थानीयवासी महाकुलुङ सांस्कृतिक परिवारका सचिव तथा पत्रकार अजय अलङ्कार कुलुङसँग २०७४ भदौ १८ मा चक्चाकुर चाडका सन्दर्भमा वार्तालाप गर्दा उहाँको भनाइ यस्तो रहेको छ । ‘चाक्चाकुर मनाउन गोरुको मासु चढाइन्छ । मासु नपाइएको अवस्थामा पिम्छोम् (गोरुको करङ) चढाइन्छ । जिउँदो गोरु काट्न नसकिने अवस्थामा मरेको गाई, गोरुको मासुको प्रयोग पनि गरिने प्रचलन छ । मरेको गाई, गोरुको मासु पनि नपाइएको अवस्थामा जङ्गली जीवजन्तुको मासु पनि प्रयोगमा ल्याउने गरिरएको छ ।

जङ्गली जनावरको मासु पनि नपाइएको अवस्थामा घरपालुवा जन्तु जस्तो : सुँगुर आदिको मासु पनि प्रयोगमा आएको पाइन्छ । विशेष गरेर चाक्चाकुरमा आफ्ना चेलीहरूलाई माइतमा बोलाई आफ्ना बुबाआमा तथा ज्येष्ठ नातेदारहरूबाट टीका लगाई आशीर्वाद दिने प्रचलन पनि थियो । तर, विगतमा प्रतिकूल परिस्थितिका कारण उक्त प्रचलन हराउँदै गएको थियो । हाल उक्त प्रथा पुनर्जीवित गर्ने प्रयत्न भइरहेको छ ।

यी सांस्कृतिक सामग्रीहरू चाक्चाकुरको पूजा अर्चना गर्दा अर्पण गर्न नसकिएमा पुर्खाहरूका मृत आत्मा (कुलदेवताहरू) तथा प्रकृतिहरू रिसाउँछन् र कुलुङ समुदायमा अनेकौँ प्रकारको रोग, व्याधि, दु:ख, कष्ट, बाधा, व्यवधान, प्राकृतिक तथा दैवी प्रकोप भई कुलुङहरूको वंश नाश हुन्छ भन्ने विश्वास जडसूत्रको रूपमा रहेको पाइन्छ । वैज्ञानिक दृष्टिकोणले यस्ता विश्वासहरू बहसमा रहँदै आएका भए तापनि व्यावहारिक रूपमा समाजिक संस्कारमा गाडिएर बसेको संस्कारले मानिसको मनस्थितिमा गम्भीर असर पुर्‍याउँदै आएको कुरालाई नकार्न पनि नसकिने स्थिति पुष्टि भइरहेको छ ।

क्रमश:

प्रज्ञा लोकवार्ता विवेचना'बाट