सनराइज बैंक लिमिटेडले एक हजार रुपैयाँ अङ्कित दरको, सात वर्ष भुक्तानी अवधि भएको र वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।
यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुला रहने बैंकद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ । तीन अर्ब रुपैयाँमध्ये १२ लाख कित्ता बराबरको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नका लागि तथा १८ लाख कित्ता बराबरको एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिनेछ । केयर रेटिङ नेपाल लिमिटेडले ‘न्यून कर्जा जोखिम’ रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ताका लागि आवेदन गर्न पाउनेछन् । तर, व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।
वि.सं. २०६४ असोज २५ मा स्थापना भई आठ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेकामा बैंकको १२औँ साधारणसभाबाट १० प्रतिशत बोनस शेयर पारित भइसकेकाले हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३८ रुपैयाँ कायम भएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यसहित बैंकले १२२ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, आठ एक्सटेन्सन काउण्टर, १४२ एटीएममार्फत् आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।