न्यूजिल्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डले भ्रमणकारी इङ्ग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जीतसँगै न्यूजिल्याण्ड २–१ ले अघि भएको छ ।
न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो । जीतका लागि १८१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले राम्रो सुरुवात गरे पनि अन्तिम ५ विकेट १० रनमै गुमाएको थियो ।
पन्ध्रौँ ओभरमा १३९ रन बनाउँदा २ विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ग्ल्याण्डको टोली त्यसपछि नाटकीय रूपमा पतन भएको थियो । इङ्ग्ल्याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए । इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो ।
हारपछि प्रतिक्रिया दिँदै इङ्ग्ल्याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरूमा अनुभवको कमी देखिएको बताउनुभयो ।