अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधवार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।
फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए)ले घोषणा गरेको नयाँ विधिअनुसार माटिल्डाका स्टार महिला खेलाडीहरू साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरू आरोन मुए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् । महिला खेलाडीहरूले पुरुषझैँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा बिजनेस क्लासको टिकट पाउनेछन् ।
अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरूले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाइ हुँदै छ । संयुक्त राज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्ने क्रममा समान ज्यालाको नारा रंगशालामै गुन्जिएको थियो ।
अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भन्नुभयो, 'फुटबल सबैको खेल हो र यो नयाँ साझा सम्झौताले समानता, समावेसिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्य मान्यतालाई अझ बलियो बनाएको छ । चार वर्षे यस सम्झौताबमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कुल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष एक प्रतिशत वृद्धि हुनेछ ।
अर्को शब्दमा उनीहरू जति बढी सफल हुनसके, भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ । एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिनुभयो । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरू पनि आम्दानीको समान हकदार रहेको बताउनुभयो ।