बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा भाग लिन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ ।
भोलिदेखि ढाकामा सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यही कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको सुरुवात गर्नेछ । त्यस्तै, कात्तिक २५ गते अफगानिस्तान, २६ गते किर्गिस्तान र २७ गते आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउन्ड रोविन लिगका शीर्ष दुई टोलीले उपाधिका लागि २८ गते खेल्नेछन् । सोही दिन तेस्रो र चौथो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।
नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) र एभीसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।