पर्यटक पर्खाइमा ज्यामरुककोट

पर्यटक पर्खाइमा ज्यामरुककोट

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फागुन ०६, २०७५

म्याग्दी । सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ । 

म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ । 

पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्दयले युक्त भएर पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ । 

सदरमुकाम बेनीबजारदेखि करीब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायत सात वटाभन्दा बढी हिमशृंखलाको दृश्यावलोकन, धौलागिरी र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ । 

त्यसका साथै यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोट, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेका स्थानीय अगुवा भीमबहादुर पौडेलले बताउनुभयो । 

जिल्ला सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको भए पनि सम्बन्धीत निकायले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थल गुमनाम रहेको स्थानीय युवा कृष्णप्रसाद शर्माले बताउनुभएको खबर राससमा छ ।