चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल, आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ ।
कात्तिक २८ गते नेपालले मलेसिया र २९ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपाली टोलीको कप्तानीको भूमिका भने डली भट्टले निर्वाह गर्नेछन् । त्यस्तै, टोलीको अन्य सदस्यमा कविता कुँवर, कृतिका मरासिनी, यशोधा विष्ट, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डङ्गोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले र सृष्टि पौडेल छन् । त्यसैगरी वैकल्पिकतर्फ हेलिसा लामा गुरुङ, पेम लामु शेर्पा र मनीषा मगर छन् ।