ज्ञानेन्द्र गदाल | साहित्य | कात्तिक २२, २०७६
तार्दै छ माया वारि र पारि, काठैको नौकाले
साँझको बेला भेटघाट हाम्रो, जुरायो मौकाले
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।
पोखरा बजार सराङकोटबाट सरर झरौँला
लुकेर बग्ने त्यो सेती नदी, पुलबाटै तरौँला
स्वर्गको बयान सुनेको मात्रै, धर्तीमै देखियो
भावना फुर्यो, पग्लियो मन, यो गीत लेखियो
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।
पूर्वमा हेर्यो बैदाम गाउँ, पश्चिममा बगर
उत्तरमा सेतै हिमाल माथि, फेवाको नजर
माछा है पुच्छ्रे हिमालको छाया टल्कियो पानीमा
टपक्कै टिपी लुकाऊँझैँ लाग्यो, आँखाको नानीमा
फेवा तालैमा
परेँ म त पोखराको मायाजालैमा ।