लोकसंवाद संवाददाता | कारोबार | कात्तिक २५, २०७६
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरूमा सहुलियतमा फोरजी सिम कार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगंजमा सिम कार्ड वितरणका साथै फोरजी सेवाको प्रचार प्रसार तथा व्यापार प्रवर्द्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । आइतवार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम कार्ड वितरण कार्य सम्पन्न गरिएको छ । यही कात्तिक २६ नेपालगंजको रामलीला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मङ्सिर ४ गते पोखराको अमरसिंह मैदानमा सिम कार्ड वितरण गरिनेछ ।
यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरूलाई २०० एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । यो विशेष अभियानअन्तर्गत ग्राहकहरूले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एक प्रति फोटो पेस गरी सिम कार्ड प्राप्त गर्न सक्नेछन् ।
गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरूका साथमा गरिरहेको साङ्गीतिक कार्यक्रम सप्तरङ २ मार्फत् पनि टेलिकमको फोरजी सेवाको प्रचार प्रसार तथा व्यापार प्रवर्द्धन गरिएको प्रवक्ता वैद्यले जानकारी दिनुभयो । कम्पनीले नवीनतम प्रविधिसहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेपश्चात् ग्राहकमाझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको छ ।