कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ ।
विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रूपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । एन्फाले नेपाल र कुवेतबीचको खेल भूटानको चाङ्लिमिथाङ रङ्गशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ ।
दशरथ रङ्गशालामा २०७२ को भूकम्पका कारण पूर्ण रूपमा क्षति भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ । नेपाल कुवेतसँग ७-० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २-० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अस्ट्रेलियासँग ५-० तथा जोर्डनसँग ३-० गोलले पराजित भएको थियो ।